Sagun Khabar
बैतडीमा धमाधम भैंसी मर्न थालेपछि किसानहरु चिन्तित 

बैतडी–बैतडीमा अज्ञात रोगका कारण धमाधम भैंसीहरु मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । गएको एक हप्ता यता भैंसीको गहुँतमा रगत देखा पर्ने, झोक्राउने र खाना नखाने लक्षण देखा पर्ने गरेको सिगास ९ का किसान बल्देव महराले जानकारी दिए । उनले भने ‘भैंसीहरु धमाधम मर्न थालेका छन् । मिहनेत गरेर पालेका भैंसीहरु मर्न थालेपछि हामीहरुलाई निकै समस्या भएको छ ।’

ब्याउने भैंसीहरु धमाधम मर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । एकसाताभित्रै गाउँमा १०÷१२ भैंसी मरेका सुर्नया ८ का किसान दलबहादुर महराले बताए । उनले भने ‘भैंसीको पिसाबमा रगत आउने गरेको छ । त्यसको ४÷५ दिनमा भैंसी मर्न थालेका छन् । लाखौंका भैंसी मर्न थालेपछि समस्यामा परेका छौं ।’

Atrya hospital

यस्तै सुर्नया ७ झाड्बौमा पनि भैंसीहरु मर्न थालेका किसानहरुले बताएका छन् । यस्तै पाटन नगरपालिकाका विभिन्न स्थानमा पनि भैंसीहरुले रातो पिसाब गर्ने, झोक्राउने र अन्त्यमा मर्ने गरेका किसानहरुले बताएका छन् । 

यो बिषयमा भेटनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र पाटनका पशु विकास अधिकृत गुमानीदत्त पन्तले भैंसीहरुको खाना बिषाक्त भएर पनि यो समस्या आएको हुन सक्ने बताए । 

पालुवाको सिजन भएकाले पालुवा खाँदा भैंसीहरुमा बिषाक्त खाना भएर रातो पिसाब गर्ने र अन्त्यमा भैंसी मर्ने गरेको उनले बताए । सुख्खा मौसम र बिषाक्त खानाकै कारण यो समस्या आएको हुन सक्ने उनको भनाई छ । 

यसका साथै किर्नाका कारणले पनि यो समस्या आउने गरेको पशु विकास अधिकृत पन्तले जानकारी दिए । भैंसीहरुमा देखिएको यो रोगका बारेमा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रमा सम्पर्क राख्न समेत उनले आग्रह गरे । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०९:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update