बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाका युवाहरुले उद्यमी बन्नका लागी बिना धितो, बिना ब्याज सहुलियत कर्जा पाउने भएका छन् । नेपाल सरकारको कार्यक्रम अनुसार गाउँपालिका भित्रका १६ देखी ४०बर्ष सम्मका युवाहरुलाई सहुलियत कर्जा दिइने गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।
पालिका भित्रै रहेका युवाका हकमा उमेर तोकिएपनि बिदेशबाट फर्केकाको हकमा भने उमेर हेरिएको छैन् ।
गाउँपालिका अध्यक्ष चन्दले भने ‘नेपाल सरकारको कार्यक्रम अन्तरगत यसबर्ष हाम्रो पालिकाका करिव १ सय ५० जनालाई तालिम दिई उद्यमी बनाउने र उनिहरुलाई ब्यवसाय गर्न कम्तीमा ५लाख र बढीमा १५लाख ऋण दिइने छ । यसका लागी राष्ट्रिय युवा परिषद, पञ्चेश्वर गाउँपालिका र नबिल बैंक बिच त्रिपक्षीय सहमति भएको हो ।’
कार्यक्रम सञ्चालन गर्नका लागीे गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र नबिल बैंकका दिगो बैंक प्रबन्धक लिला प्रशाद ओझाले मंगलबार त्रिपक्षिय सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा महिला, दलित, बिदेशबाट फर्केका ब्यक्तिहरुलाई प्राथमिकतामा राखिने बताइएको छ ।
उक्त कार्यक्रम अन्तरगत राष्ट्रिय युवा परिषदले ७ दिनको तालिम दिने, तालिमको खर्च गाउँपालिकाले ब्यहोर्ने तथा नबिल बैंकले ५ देखी १५ लाख सम्मको सहुलियत कर्जा उपलब्ध गराउने राष्ट्रिय युवा परिषदका कायैकारी सदस्य गोबिन्द गिरिले बताए । उद्यम अन्तरगत कृषि तथा पशुपालन, साना तथा घरेलु उद्योगहरु, अटोमोबाइल्स, गाडि मर्मत लगायतका ब्यवसायहरु र परम्परागत पेषा प्रर्बधनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । राम्रो आम्दान गर्न सकिने सबै प्रकारका व्यवसाय गर्ने युवाहरुलाई उद्यमी बनाइने उनले बताए ।
गाउँपालिकाले अबको १ हप्ता भित्रै तालिमका लागी दरखास्त आह्वान गर्नेछ । आएका दरखास्तका आधारमा युवाहरुलाई तालिममा सहभागी गराई उद्यम सञ्चालन गर्नका लागी नबिल बैंकबाट बिनिा धितो बिना ब्याज कर्जा पाइनेछ ।
उक्त कार्यक्रममा अहिले देशभर बाट १७ स्थानियतह छनोट भएकोमा सुदुरपश्चिमबाट पञ्चेस्वर गाउँपालिका छनोट भएको हो ।