Sagun Khabar
बैतडीमा विद्यालय खुल्दै, भौतिक उपस्थितीमै पठनपाठन 

बैतडी –लामो समयदेखि बन्द रहेका बैतडीका विद्यालयहरु खुल्न थालेका छन् । कोरोना कहरका कारण बन्द भएका विद्यालय कोरोना संक्रमणदर कम हुन थालेपछि खुल्न थालेका हुन् । केही पालिकामा विद्यालयहरु यसअघि नै सञ्चालन भएर पठनपाठन समेत शुरु भईसकेको छ भने केही पालिकाहरुले विद्यालय सञ्चालनको तयारी गरेका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याईसकेका छन् । कोरोना संक्रमणदर कम हुँदै गएपछि भौतिक रुपमै विद्यालय सञ्चालनमा ल्याईसकेको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । उनले भने ‘कोरोना संक्रमणदर कम भएपछि हामीले भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गरेका छौं ।’

Atrya hospital

भौतिक रुपमा विद्यालय सञ्चालन नहुँदा बालबालिकाहरुको शिक्षण सिकाईमा प्रभाव परेकाले भौतिक रुपमै विद्यालय सञ्चालनमा ल्याईएको भट्टले बताए । 

जिल्लाको दशरथचन्द नगरपालिकाले पनि गत सातादेखि मात्रै विद्यालय सञ्चालनमा ल्याएको छ । प्रधानाध्यापकहरुसंग छलफल गरेर विद्यालयहरु सञ्चालनमा ल्याइएको शिक्षा शाखा प्रमुख मोहन नाथले बताए । उनले भने ‘लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाहरुको शिक्षण सिकाईमा प्रभाव परेको छ । त्यसैले हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याएका छौं ।’

जिल्लाको शिवनाथ गाउँपालिकाले साउन पहिलो सातादेखि विद्यालय सञ्चालनमा ल्याएको हो भने पञ्चेश्वर गाउँपालिकाले भदौ पहिलो सातादेखि विद्यालय सञ्चालनमा ल्याईसकेको शिक्षा शाखा प्रमुख यतिश तिवारीले जानकारी दिए । 

यस्तै जिल्लाको डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका र मेलौली नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेका छन् । मेलौली नगरपालिकाले साउन १० गतेदेखि विद्यालय सञ्चालनमा ल्याएकोमा बीचमा कोरोना संक्रमितको संख्या बढेपछि बन्द गरेको थियो । आइतबारदेखि नियमित रुपमा विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । 

जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि भाद्र ३० गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यस्तै जिल्लाको सिगास गाउँपालिकामा प्रधानाध्यापकहरुसंग छलफल गरेर विद्यालय खोल्ने निर्णय भईसकेको शिक्षा शाखा प्रमुख रमेश भट्टले जानकारी दिए । यद्यपि पालिकाले निर्णय गर्न भने बाँकी रहेको उनले बताए । यस्तै पुर्चौंडी नगरपालिकामा पनि विद्यालय खोल्ने तयारी भईरहेको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update