बैतडी–बैतडीको मेलौली नगरपालिका वडा न. ७ पचकोराकी सुमित्रा पार्कि २० बर्ष पुगिन् । २०बर्ष अघि जन्मेकै दिन देखी सुतेकी उनि अझै उठेकी छैनन् । जन्मजात अपांग सुमित्रा ५बर्ष पुग्दा सम्म केहि स्वास्थ्य सुधार भएको पाइएपनि त्यसपछि भने स्वास्थ्य अवस्था दिन प्रतिदिन झन् झन् बिग्रिदै गयो ।
‘उनि कहिलैपनि बोल्न सकिनन् । अहिले उनि कोहि नभएको बेला दादा, बाबा, दिदि मात्रै भन्न सक्छिन् । उनलाई होस पुरै छ । तर उठ्न, हिड्न र बोल्न सक्दिनन् । कोहि मान्छे भेट्न पुग्यो भने उसको बारेमा बाआमा संग इसाराले कुरा गर्छिन् ।’ सुमित्राका बुवा प्रतापले भने । सुमित्राका लागी हरेक बेला एकजना घरमा स्याहार गर्ने मान्छे हुनुपर्छ ।
सुमित्राको उपचारका लागी नेपाल र भारतका १दर्जन बढि अस्पताल पु¥याइएको थियो । तर उपचार भने सम्भव भएन् । दिनदिनै उनको अवस्था बिग्रदै गएको छ ।
पुर्ण अशक्त को वर्गिकरणमा रहेकी सुमित्रा मासिक रुपमा अपांगता भत्ता पाउछन् । विगतमा गाउँमै भत्ता वितरण हुनेहुदाँ समस्या थिएन । तर अबदेखी बैंक खाता मार्फत भत्ता पाइने भएकाले उनका बुवाआमाले नागरिकता बनाउन १०हजारमा जीप बुकिङ गरि जिल्ला प्रशासन कार्यलय सम्म पु¥याए ।
सुमित्राकी आमा शान्तीदेबीले भनिन्‘आज सदरमुकाम आउन १०हजारमा गाडि बुकिङ ग¥यौँ । अब बैंकमा खाता खोलेको दिनपनि गाडी बुकिङ गर्नुपर्ने हो । उसैको भत्ता पाएपछि पैषा तिरौँला ।’
सुमित्रा एक्ली सन्तान भने होइनन् । उनि ५ भाई बहिनिको बिचकी हुन् । उनका १दिदि र १दाई जेठा छन् भने, १भाइ १बहिनी कान्छा छन् ।
उनि दिनभर आफ्नै हालतमा घरमै हुन्छिन् । बालक भुलाए जस्तै कहिले सम्म भुलाउनु पर्ने हो थाहा छैन् । सुमित्राकी आमा शान्तीदेबीले भनिन् ‘उनलाई खाना खुवाउने, सरसफाई गरिदिने, दिशापिसाब सबै हामीले सफा गरिदिनुपर्छ । महिनावारी भएको बेला सरसफाई गरिदिन्छौँ । भाग्यमै यस्तै मागेर ल्याइन् । के गर्ने ?’
पुर्ण असक्त रहेकी सुमित्रालाई सामाजिक सुरक्षा भत्ता बाहेक अरु सहयोग भने कतैबाट पनि पाइएको छैन् । उनको घरको आर्थिक अवस्था अत्यन्तै दयनिय छ । बिगतमा सुमित्राका बुवा प्रताप भारतमा सानतिनो रोजगारी गरेर जिविका चलाउने गरेकोमा अहिले उमेर ढल्किदैँ जादाँ घरमै छन् । ‘हामी जस्ता अपांगताका परिवारलाई पनि कुनै निकायले हेरिदिए हुन्थ्यो । बिगतमा कमाएको पैषा छोरीकै उपचारमा खर्च भयो । अहिले दैनिक हातमुख जोड्न समस्या छ । प्रताप भन्छन् ‘कतै छोरीलाई ठुलो अस्पतालमा उपचार गराउन सके निको पो हुन्थ्यो की ? कसैले हामीलाई पनि सहयोग गर्लान की ? सुमित्राका बुवाआमाको मनमा दिनरात यहि कुरा खेलिरहेको हुन्छ । ’