बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा न. ४ सन्सेरीमाण्डौँ बजारका एक ब्यापारी मृत अवस्थामा फेला परेकाछन् । सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया ४ लेकडाँडा निवासी अन्दाजी ४५ बर्षका कमलसिंह महरा आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।
बिहान साडे ६ बजे स्थानियबासीले महराको शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानिय गणेश भाटले बताए । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । मृतकको शब स्थानिय राम महरा र हिक्मत महराको पसल अगाडी भेटिएको हो ।
घटना राती १० बजे पछिको समयमा भएको हुनसक्ने स्थानियबासीको अनुमान रहेको छ ।
मृतकको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । मृतकको टाउको, छाती र शरिरका बिभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानबिन गरिनुपर्ने स्थानिय प्रताप महराले बताए ।
मृतक महराको पसल बन्द रहेको छ भने, उनको शब आफ्नो पसल भन्दा २सय मिटर पर भेटिएको हो । अहिले इलाका प्रहरी कार्यालय पाटन बैतडीको टोली अनुसन्धानका लागी घटनास्थल पुगेको छ ।
घटनाका बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक राजेश शाहीले बताए ।