Sagun Khabar
बैतडीमा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्दै

बैतडी –बैतडीमा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्दै गएको छ । पछिल्ला तीन बर्षको तथ्यांक हेर्दा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

आर्थिक बर्ष २०७५÷७६ मा ७७७ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा आर्थिक बर्ष २०७६÷७७ मा त्यो संख्या घटेर ५८१ पुगेको छ । यस्तै गत आर्थिक बर्षमा ५६५ जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 

Atrya hospital

सुरक्षित गर्भपतन सेवा लिनेमा २० बर्ष मुनिका किशोरीहरु समेत रहेका छन् । जिल्लामा आर्थिक बर्ष २०७५÷७६ मा २४ जना किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन् भने आर्थिक बर्ष २०७६÷७७ मा २० जना किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यस्तै गत आर्थिक बर्षमा ११ जना किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । 

जिल्लामा परिवार नियोजन सेवाको उपलब्धता र प्रयोगदर बढेका कारण सुरक्षित गर्भपतन गराउनको संख्या कम हुँदै दाबी गरिएको छ । तर बैतडीमा सुरक्षित गर्भपतनका लागि बैतडीमा २४ ओटा स्वास्थ्य संस्था सूचीकृत भएका भएपनि ९ ओटा स्वास्थ्य संस्थाबाट मात्रै सो सेवा सञ्चालन भईरहेको छ । 

दक्ष स्वास्थ्यकर्मीको अभावमा १५ ओटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा बन्द भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

अहिले जिल्ला अस्पताल बैतडी, सिद्धेश्वर स्वास्थ्यचौकी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, विशालपुर स्वास्थ्यचौकी र शर्माली स्वास्थ्यचौकीबाट सुुरक्षित गर्भपतन सेवा प्रदान भईरहेको छ । 

यस्तै हाट स्वास्थ्यचौकी, रीम स्वास्थ्यचौकी, कोटपेटरा स्वास्थ्यचौकी र गिरेगडा स्वास्थ्यचौकीबाट पनि सुरक्षित गर्भपतन सेवा प्रदान भईरहेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 

सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएका केही स्वास्थ्य संस्थाबाट सो सेवा बन्द भएपछि असुरक्षित गर्भपतन गराउने जोखिम बढ्दै गएको छ । जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्यसंस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन स्वासथ्यकर्मीहरुले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update