बैतडी –युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको हत्या भएको आशंकमा ४ जनाको नाममा किटानी जाहेरी परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दशरथचन्द नगरपालिका ५ का अशोक नाथ र महेश नाथलाई पक्राउ गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । उनीहरु दुवैजनालाई घरबाटै आइतबार पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थपेर अनुसन्धान शुरु भईसकेको प्रहरी निरीक्षक ओझाले बताए । उनले भने ‘हामीले यो घटनाका बिषयमा पहिलादेखि अनुसन्धान गरिरहेका छौं । किटानी जाहेरी परेकाहरुलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं ।’
भिरबाट लडेर मृत्यु भएका भनिएका भाटको हत्या भएको भन्दै मृतकका बुवा बीरसिंह भाटले दशरथचन्द नगरपालिका ५ का अशोक नाथ, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरपछि दुईजना पक्राउ परेका र दुईजनाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारको क्रममा गत भदौ ११ धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो । उनी भदौ १० गते भीरबाट लडेका थिए । त्यतिबेला भीरबाट लडेर भाट घाइते भएका भनिएको भएपनि परिवारजनले भने हत्या भएको आशंका गरेका छन् ।
भाट लडेको भनिएको ठाउँमा त्यस्तो भीर नभएको र उनीसंगै भएकाहरुले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको हुन सक्ने मृतकका बुवा बीरसिंह भाटले बताए ।