बैतडी –सुदूरपश्चिमका वरिष्ठ पत्रकार रामबहादुर चन्दको बुधवार निधन भएको छ । ९५ बर्षीय चन्दको ललितपुरको भैसिपाटीस्थित घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
बैतडीको तत्कालिन चौखाम गाविस (हालको सिगास गाउँपालिका)मा जम्मिएका चन्द लामो समयदेखि बिरामी अवस्थामा थिए । महेन्द्रनगरमा बसेर लामो समय पत्रकारिता गरेका चन्दलाई प्रेस काउन्सिल नेपालले ‘प्रेस स्वतन्त्रता सेनानीको’ सम्मानसमेत प्रदान गरेको थियो । सुदूरपश्चिमको पत्रकारिताका खम्बा मानिने चन्द लामो समय बामपन्थी आन्दोलनमा समेत सक्रिय भएका थिए ।
चन्दले पहिलो पटक महेन्द्रनगरमा ०२६ सालमा महाकाली सन्देश पाक्षिकबाट पत्रकारिताको औपचारिक यात्रा आरम्भ गरेका थिए । ०३३ सालमा साप्ताहिक वार्ता र ०४९ मा जनवार्ता अर्ध साप्ताहिकमार्फत उनले सुदूरपश्चिमको पत्रकारितामा योगदान पुगाएको बताईन्छ ।
चन्दको निधनमा पत्रकार, आफन्तल गायतले शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।