बैतडी– बैतडीको डिलाशैनी गाउँपालिका ६ कोटका प्रेम धानिक १३ बर्षका भए । तर उनको पिठ्यूमा हरेक दिन ५० किलोको बोरा देख्न सकिन्छ । उनी घरमा छाकटार्न दैनिक ट्रक लोड–अनलोड गर्ने काम गर्दछन् ।
प्रेम आमाको गर्भमा छदै उनका बुवा जयभानको मृत्यु भईसकेको थियो । उनी ११बर्षको पुग्दा आमा दुर्गा उनलाई छाडेर पोइल गईन् । टुहरा प्रेम अहिले हजुरआमासंग बस्दै आएका छन् । तर ७०बर्षकी बृद्धा हजुरआमा समेत अपांग छिन् । उनि बोल्न सक्दिनन् । उनकि हजुरआमाले बोलेका कुरा कोहि बुझ्दैनन् । तर प्रेम भने के बोलेकि हुन् भन्ने अड्कल गर्न सक्छन् ।
अहिले प्रेम आफैले मजदुरी गरेको पैसाले २जनाको परिवारको गर्जो टरेको छ । दिनभर मजदुरी गरेर दैनिक उपभोग्य सामान घरमा लग्छन् र त्यहि खाएर सुत्छन् ।
कक्षा ६ मा अध्ययनरत प्रेमले कयौँ दिनरात भोकै रोएर बिताए, यस्ता कुरा उनलाई गनि साध्य छैन् । ‘बुवा त म जन्मनु अघि नै बित्नु भएको रहेछ । तर आमाले मलाई १०बर्षको छदाँ सम्म हुर्काउनुभयो । आमालेपनि छोडेर गएपछि हाम्रा दुःखका दिन झनै पिडादायी बने । आमाले मलाई राति ४बजेको समयमा छोडेर जानु भएको हो । सदरमुकाम जान्छु आइहाल्छु भन्नु भएको थियो तर आउनुभएन् ।’ प्रेमले अगाडि थपे, ‘आमा हाम्रो घरबाट गएकै दिन केटापनि आएको रहेछ र पोइल जानु भएछ । आमाको याद त आउछ तर के गर्नु ? आजभोली अर्को बिहेपछि छोरी जन्मीएकी छन् भन्ने सुनेको छु । आमाले मलाई कहिले सम्पर्क गर्नुभएन् । याद आउछ याद आएर के गरुँ ?’
टुहुरा प्रेमले ११बर्षकै उमेरबाट मजदुरी गर्न सुरु गरिसकेका थिए । उनले भारी बोक्नेदेखि गाडि लोड÷अनलोड, निर्माण कार्यमा ढुंगा, इट्टा, सरिया सिमेन्ट बोक्ने लगायतका सबै काम गर्ने गरेको बताए । ‘स्कूलको समयमा स्कूल जान्छु । छुट्टि भएपछि काममा जाने गरेको छु । बिदाको दिन दिनभरी मजदुरी गर्छु, मजदुरी पाउनै पनि गाह्रो छ ।’ उनले भने
दिनभरी मजदुरी गर्ने प्रेमलाई विद्यालय पढ्न् ठूलो रहर छ । विद्यालयको कापीकलम र आफ्नो जीवन धान्न उनीसंग मजदुरी गर्नुको विकल्प छैन् । उनले भने ‘धेरै पढ्न सकिएला जस्तो छैन् । त्यसैले चालक बन्ने रहर छ ।’