बैतडी –मानिस जन्मिने मृत्यु हुने ध्रुव सत्य नै हो तर कसैको अकल्पनीय मृत्युले भने जिन्दगीभर रूवाएको हुन्छ । यस्तै पीडामा छिन् बैतडीको सुर्नया गाउँपालिका ४ की धाना दमाई । बालापन अर्थात १८ बर्षमै विवाह बन्धनमा बाधिएकी धानाका लागि अहिले जिन्दगीको सारथी छुटेपछि मर्नु न बाँच्नु भएको छ ।
जण्डिस भएर उपचार गर्दागर्दै ४ बर्ष अघि श्रीमान करन दमाइको मृत्यु भएपछि तीन ओटा कलिला मुना सहित धाना दमाई बिचल्लीमा छिन । घरको आधार नै ढलेपछि परिवार पाल्न निकै धौ धौ भएको उनले सुनाइन् । उनले भनिन् ‘घरको आधार नै ढलेपछि कसरी परिवार पालुँ ? केटाकेटीहरुलाई के खुवाउँ ?’
४ बर्ष अघि घरको मुलि नै सधैका लागि अस्ताएपछि लालाबाला अभिभावक बिहिन भएका छन । १३ बर्ष मुनिका ३ छोरा कसरी पढाउने हुर्काउने धानालाइ चिन्ता छ । न आफू संग कुनै रोजगारि छ, न त खान लाउन जग्गा खेत नै । मागेरै गुजरा चलाउनुपर्ने अवस्था आएको धानाले बताइन् ।
छिमेकीमा अरूको छोराछोरीले मीठो मसिनो लाएको खाएको देखेर धानाका छोरा छोरी पनि त्यहीँ खोज्छन, तर धाना लाई मिठो मसिनो भन्दा पनि कापी कलम र बाँच्नको लागि हातमुख जोर्नै समस्या छ ।
अन्य बेलाको भन्दा चाडपर्व आउँदा धानालाई झन समस्या हुने गरेको छ । उनले भनिने ‘चाडपर्व नजिक आयो भने राति निद्रा लाग्न छोड्छ । सबैले नयाँ लुगा लगाउलान , माछा मासु खालान मेरा छोराहरूलाई के खुवाउने भन्ने चिन्ता हुन्छ ।’
दुई कोठे साँघुरो घरमा सासु–ससुरा ,देउरानी–जेठानी , छोराछोरी गरेर १८ जनाको परिवार बसेका छन । सोही साँघुरो घरमा तीन छोरा सहित धाना पनि बस्छिन् । उनले भनिन् ‘मलाई महलको सुख सयल होइन बस्ने छानो र दुई छाक खान पुगे मात्र स्वर्ग पुगेको अनुभूति हुन्थ्यो । तर मलाई ओत लाग्ने छानो बनाउनै मुस्किल छ । सहयोगीहरुलाई मेरो समस्या बुझेर सहयोग गरिदिन अनुरोध गर्दछु ।’
सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा नेता र सरकारले बोकेको नारा हो । तर यो नारा कहिले पुरा हुने हो त्यो भने थाहा छ्रन् । धाना दमाई जस्ता पीडितहरुको घाउमा मलम लगाउन सके मात्रै यस्ता नारा सार्थक हुनेछन् ।