बैतडी –बैतडीको दशरथचन्द नगरपालिका ५ स्थित दशरथचन्द मावि सुन्दरखालीको भवन पहिरोको जोखिममा परेको छ । असोज ३१ गते रातीदेखि परेको पानीले विद्यालयको आँगन भासिएपछि विद्यालय भवन जोखिममा परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती चन्दले जानकारी दिइन् ।
विद्यालयको आँगन भत्किएपछि ४ कोठे भवन जोखिममा परेको हो । यस्तै सोही विद्यालयको अर्को दुई कोठे भवन पनि पहिरोको जोखिममा परेको अध्यक्ष चन्दले जानकारी दिइन् ।
सुन्दरखाली क्रिकेट मैदान तलतिरको दुईकोठे भवन पनि पहिरोको जोखिममा परेको उनले बताइन् । क्रिकेट मैदान भत्किँदा विद्यालय जाने बाटो समेत बन्द भएको छ । विद्यालय भवन जोखिममा परेपछि पठनपाठनमा समेत समस्या भएको छ ।
लगातारको बर्षाले विद्यालयमा पुर्याएको क्षति बिषयमा सम्बन्धित निकायहरुलाई जानकारी गराईसकिएको अध्यक्ष चन्दले जानकारी दिइन् । भवन जोगाउन विद्यालयमा पर्खाल लगाउनुपर्ने भएकाले आवश्यक सहयोगका लागि विद्यालय आग्रह समेत गरेको छ ।