Sagun Khabar
भागरथी हत्याका अभियुक्त दिनेशले बयान फेरे 

बैतडीको भागरथीको हत्याका अभियुक्त दिनेश भट्टले आफ्नो बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका बुवा दीपकप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिला फोनमा कुराकानी गर्दा मैले हत्या गरेको होइन् । त्यसबेला डरले भनेको हुँ भन्यो । हिजो शनिबार दिपायल गएर भेटे । भेटमा पनि त्यही कुरा गर्यो ।’

पहिले हत्या स्वीकार गरिस्, फेरि अहिले यस्तो किन भन्दैछस् आफूले भन्दा उसले हत्यारालाई देखेको र कसैलाई बतायो भने मारिदिन्छु भनेका कारण आफूले झुटो बोलेको बताएको अभियुक्तका बुवा दीपकप्रसाद भट्टले बताउनुभयो । 
आफूले विद्यालयबाट घर फर्कने बेला भागरथी दीदीलाई मारेको देखेको र कसैलाई भनेमा तिम्रो बुवा र भाईलाई समेत मारिदिन्छु भन्ने धम्की दिएपछि आफूले झुटो बोलेको दिनेशले बताएको उहाँले बताउनुभयो । भागरथीको हत्या गर्ने एकजनालाई आफूले चिनेको समेत दिनेशले दाबी गरेको उनका बुवाले बताएका छन् । पहिला आफू गाउँमै रहेको र अहिले गाउँ छोडेर महेन्द्रनगर बसीरहेको दीपकले बताउनुभयो । आफूले गाउँ छोडेर आएपछि छोराले बयान फेरेको दीपकको दाबी छ । 

Atrya hospital

तर, यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरिएको थियो । सरकारी वलिकको कार्यालय बैतडीमा बुबा दिपकराज भट्टकै अगाडि आरोपितले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए । 
दिनेश १६ वर्षका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्था अनुसार संरक्षकको रोहवरमा लिइएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी रहेको छ ।

दिनेशले यसअघि घटनामा आफूबाहेक कोही पनि संलग्न नरहेको बयान दिएका थिए । हत्याका आरोपी दिनेश भागरथीकै गाउँका भाइ हुन् । उनी भागरथी अध्ययनरत सनातनधर्म माविमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी उक्त विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा गत माघ २२ मा शव फेला परेको थियो । भागरथीको शव लवलेक जंगलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा फेला परेको थियो ।
 

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update