बैतडी – बैतडी सदरमुकाममा कार्तिक पहिलो सातादेखि अवरुद्ध भएको खानेपानी बुधबारदेखि सुचारु भएको छ । खानेपानीको मूहानमा पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएको खानेपानी आजदेखि सुचारु भएको हो ।
आज बिहानदेखि धाराहरुमा पानि आएको गोठलापानिका व्यापारी यज्ञराज बोकटीले बताए । गएको १०दिन सम्म पानी अवरुद्ध हुँदा सदरमुकामबासी अन्यत्रबाट पानीको जोहो गर्न बाध्य भएकोमा आजदेखि धाराहरुमा पानी सुचारु भएको उनले बताए । उनले भने ‘आजदेखि धारामा पानी आएको छ । तर पार्याप्त मात्रामा आएको छैन् ।’
विगतमा जस्तो धारा नियमित पानी नआएर २० मिनेट मात्रै पानी सुचारु भएको बोकटीले बताए । जिल्ला सदरमुकाममा करिब ६ किलोमिटर टाढा रहेको माडखोला मूहानबाट खानेपानी ल्याइएको छ । बेमौसमी बर्षाका कारण मूहानमा पहिरो खस्दा १० दिनपछि पानी सुचारु गर्न सकिएको बैतडी नगर खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।
सदरमुकाममा पानी सुचारु भएसंगै स्थानीयबासी र होटेल व्यवसायी खुसी भएका छन् । १० दिन सम्म पानीको जोहो गर्न निकै मुस्किल भएको अवस्थामा पानी सुचारु भएपछि स्थानीय खुसी भएका शाहिलेकका व्यापारी चेतराज पाण्डेयले बताए ।
खानेपानी योजनाको उपभोक्ता समिति, दशरथचन्द नगरपालिका र सुरक्षाकर्मीहरुको लगातार प्रयासले सदरमुकामको खानेपानी सुचारु भएको निमित्त प्रमुख जिल्ला अधिकारी अधिकृत खगेन्द्र भारतीले बताए ।