बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाका पहिरो पीडित परिवारलाई मार्यादा सामग्री वितरण गरिएको छ । पहिरोका कारण ज्यान गुमाएका र प्रभावित भएका परिवारका महिला तथा किशोरीहरुलाई मार्यादा सामग्री वितरण गरिएको हो ।
शिवनाथ गाउँपालिकाको पहलमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा मार्यादा सामग्री वितरण गरिएको हो ।
मार्यादा सामग्रीमा महिलाहरुले प्रयोग गर्ने लुगा, सरसफाईका सामग्री लगायत रहेका संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)का जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।
शिवनाथ गाउँपालिकाका वडा नं ६ बसेडीमा पहिरोमा पुरिएर आफन्त गुमाएका तथा अन्य पहिरो पीडितहरुलाई मार्यादा सामग्री वितरण गरिएको उनले बताए ।
मार्यादा सामग्रीले महिला तथा किशोरीहरुलाई केही राहत हुने शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् । उनले भनिन् ‘अहिले हाम्रो गाउँपालिकाभरी पहिरोबाट धेरै नागरिक प्रभावित भएका छन् । यस्ता सामग्री प्रभावित परिवारलाई केही सहयोग पुग्छ ।’
गाउँपालिकाका धेरै स्थानमा पहिरोबाट प्रभावित नागरिक भएकाले यस्ता सामग्रीहरुले केही न केही सहयोग पुग्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
शिवनाथ गाउँपालिकाको वडा नं ६ बसेडीमै पुगेर प्रभावित परिवारहरुलाई मार्यादा सामग्री वितरण गरिएको हो ।