Sagun Khabar
पहिरोले बनायो घरबार विहिन, आफन्त गुमाउँदा सहनै नसकिने पीडा 

बैतडी – बैतडीको शिवनाथ गाउँपालिका ६ बसेडीका २८ बर्षीय राजुराम पार्कीका आँखा अझै ओभाएका छैनन् । यही कार्तिक २ गते खसेको पहिरोले ३ बर्षीय छोरा देवानी पार्की र २७ बर्षीया श्रीमति भानु पार्कीलाई खोसेपछि उनी विक्षप्त भएका छन् । श्रीमति र छोरा गुमाउनुको पीडा उनी शब्दमा व्यक्त गर्न सक्तैनन् तर उनका आँखाबाट खसीरहेका आँसुले उनको पीडा जो कोहीले पनि महसुस गर्न सक्छन् । 

लगातारको बर्षाले कार्तिक २ गते राजुरामको घरमाथिबाट खसेको पहिरोले घर सहित छोरा,श्रीमति र भाईबुहारी पुरिएपछि अहिले पुरै परिवार शोकमग्न छन् । 

Atrya hospital

राजुरामका भाई हरिश पार्कीले गएको असारमै मात्र पवित्रा पार्कीसंग प्रेम विवाह गरेका थिए । यो जोडीको प्रेम फुल्न नपाउँदै ओलिएको छ । 

पहिरोले नामोनिसान मेटाएको घरलाई देखाउँदै राजुरामले पापी दैवले मेरो घर उजाड बनायो भनेर बेलाबेला भक्कानिन्छन् । उनले भने ‘मेरो छोराको हाड बगेको देखे । यस्तो अवस्थामा म कसरी यो ठाउँमा बसुँ ? जुनीजुनी संगै जिउने कसम खाएकी श्रीमतिलाई पापी पहिरोले लग्यो । अब म के हेरेर बसुँ।’

राजुराम पार्कीका वृद्ध आमा बुवा पनि बुहारी र नाती गुमाएपछि विक्षप्त बनेका छन् । ‘छोराको दुःख देख्नु रहेछ । हामीले बाँचेर के गर्नु ? यस्तो आपत पर्ला भनेर सोचेकै थिएन् ।’राजुरामकी आमा लक्षुले बलिन्द्र आँसु खसाल्दै भनिन् ‘अब त पाइला टेक्ने ठाउँ पनि रहेन । छोराको यो उमेरमा यो दुख देख्दा हृदय छियाछिया भएको छ ।’

राजुरामका बुवा रामी पार्की पनि अहिले बोल्न नसक्ने अवस्थामा पुगेका छन् । उनले भने ‘यस्ता दुःख देख्न बाँचेको रहेछु ।’

पहिरोले घरबार विहिन बनाएपछि अहिले राजुरामको परिवार विचल्लीमा छ । नयाँ घर बनाउन पनि उनीहरुसंग जमीन छैन् । 

जमीन खोजेरै भएपनि पीडित परिवारको व्यवस्थापन गर्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने ‘हामीले पहिरोबाट घरबार गुमाएकाहरुको व्यवस्थापनका लागि पहल गरिरहेका छौं ।’
 

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ११:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update