बैतडी–यही कार्तिक पहिलो साता परेको अविरल बर्षाका कारण खसेको पहिरोले सिगास गाउँपालिकामा निर्माण कार्य सम्पन्न हुन लागेको एक लघुजल विद्युत आयोजना बगाएको छ ।
सिगास गाउँपालिका वडा नं ६ स्थित भेकेखोला लघुजल विद्युत आयोजनाको पावर हाउस, टरवाइन र इएलसी बोर्ड पहिरोले बगाउँदा २५ लाख बराबरको क्षति भएको भेकेखोला लघुजल विद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर रोकायाले बताए ।
विद्युत आयोजनाको पावर हाउस भएको ठाउँमाथिबाट खसेको पहिरोले पावर हाउस र टरवाइन बगाएको छ भने इएलसी बोर्ड पुरिदिएको छ । पहिरोले बगाएको टरवाइन खोज्दा समेत नभेटिएको अध्यक्ष रोकायाले बताए । उनले भने ‘यो महिनाको अन्तिमतिर विद्युत बाल्ने योजना थियो । तर पहिरोले योजना नै पुरेपछि अब समस्या भएको छ ।’
सिगास गाउँपालिका वडा नं ६ का थालाकाँडा, सुनकुडा र बगडा टोलका करीब ४ सय घरधुरीमा विद्युत सेवा पुर्याउने उद्देश्यका साथ गएको चार बर्षदेखि सो लघुजल विद्युत आयोजना निर्माण भईरहेको थियो । गाउँपालिकाको अढाई करोडको लागतमा निर्माण सम्पन्न हुने चरणमा रहेको योजनामा पहिरोले क्षति पुर्याएपछि समस्या भएको अध्यक्ष रोकायाले बताए ।
२२ किलोवाट क्षमताको लघुजल विद्युत आयोजनाका केही पोलहरु पनि पहिरो लगेको छ भने अन्य संरचनाहरुमा पनि व्यापक क्षति पुगेको छ । पहिरोले आयोजनामा क्षति पुर्याएपछि यो महिनाभित्रै बत्ती बाल्ने योजना अधुरै रहेको उपभोक्ता समिति अध्यक्ष रोकायाले बताए । उनले भने ‘पहिरोले हामी गाउँबासीको उज्यालोमा बस्ने सपना चकनाचुर पारिदियो । विद्युत आयोजना सुचारु गर्न अब बजेटको समेत समस्या भएको छ ।’
कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले बैतडीका विभिन्न स्थानमा आएको बाढी पहिरोले करोडौंको क्षति पुर्याएको छ भने कतिपय नागरिक घरबार विहिन भएका छन् ।