बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ । यही कार्तिक पहिलो साता परेको बर्षाका कारण खानेपानी लाइनमा पहिरो जाँदा खानेपानी अवरुद्ध भएको स्थानीय खगराज भट्टले बताए ।
श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति भएको उनले बताए । गाउँमा जाने खानेपानी १२ दिनदेखि अवरुद्ध हुँदा समेत कसैले चासो नदिएको उनले बताए ।
धरमघर मूहानदेखि चडेपानी गाउँमा खानेपानी पुर्याइएको छ । पाइप लाइनमा क्षति भएर खानेपानी अवरुद्ध हुँदा स्थानीयहरु २ घण्टा टाढाको मूहानबाट पानी ल्याउन बाध्य भएका छन् ।
अवरुद्ध खानेपानी सञ्चालनका लागि खानेपानी उपभोक्ता समितिले समेत कुनै चासो नदिएको स्थानीयहरुले आरोप लगाएका छन् । खानेपानी अवरुद्ध हुँदा समेत पालिकाले समेत कुनै चासो नदिएको स्थानीयहरुको भनाई छ ।