बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश क्षेत्रीय अधिवेशन मंसिर ४ गते हुने भएको छ । केन्द्रिय निर्वाचन समितिले प्रदेश क्षेत्रीय अधिवेशनका लागि मंसिर ३ गतेको मिति तोकेको भएपनि बैतडीमा स्थानीय शक्तिपीठ तथा मन्दिरहरुमा त्यो दिन मेला तथा जात्रा लाग्ने भएकाले प्रदेश क्षेत्रीय अधिवेशन मंसिर ४ गते गर्ने निर्णय भएको हो ।
आइतबार जिल्ला कार्यसम्पादन समितिको बैठक बसेर मंसिर ४ मा प्रदेश क्षेत्रीय अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताए ।
यस्तै यही कार्तिक पहिलो साता परेको अविरल बर्षासंगै आएको बाढी पहिरोले पुर्याएको क्षतिका बिषयमा नेपाली कांग्रेसको बाढी पहिरो विपद् केन्द्रिय समन्वय समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई उचित राहतका लागि लिखित आग्रह गर्ने निर्णय भएको उनले बताए ।
जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा कार्तिक ६ गतेदेखि १२ गते सम्म नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रसिंह थापा नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेकाले सोही अनुसार पीडितहरुलाई राहत र क्षतिपूर्ती दिनका लागि आग्रह गरिने उनले बताए ।