बैतडी –नेकपा एमालेले बैतडीका ८४ ओटै वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ मा आइतबार वडा अधिवेशन सम्पन्न भएसंगै ८४ ओटै वडामा अधिवेशन सम्पन्न भएको प्रदेश सांसद एवं एमाले जिल्ला सचिव लिलाधर भट्टले बताए ।
८४ ओटै वडामा सर्वसम्मत रुपमा नयाँ कमिटि गठन गरिएको उनले बताए । वडा अधिवेशन सम्पन्न गरेसंगै भोली (सोमबार) पालिका अधिवेशन हुने उनले बताए ।
बैतडीका १० ओटै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्नका लागि प्रतिनिधि खटाइएको समेत सचिव भट्टले बताए । मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा अधिवेशन सम्पन्न गर्न सचिव भट्ट आँफै प्रतिनिधिको रुपमा खटिएका छन् ।
यस्तै पञ्चेश्वरमा केन्द्रिय सदस्य पुरनसिंह दयाल, पाटन नगरपालिकामा प्रदेश कमिटि सदस्य मोहनसिंह थापा, दशरथचन्द नगरपालिकामा प्रदेश कमिटि सदस्य पुष्करराज जोशी (लख्खाभाई) र पुर्चौंडी नगरपालिकामा संघीय सांसद एवं प्रदेश कमिटि सदस्य दामोदर भण्डारीलाई खटाइएको छ ।
यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकामा जिल्ला अध्यक्ष सुरेन्द्र पाल,दोगडाकेदार गाउँपालिकामा जिल्ला उपसचिव चक्रबहादुर कार्की, सुर्नया गाउँपालिकामा प्रदेश कमिटि सदस्य नरेश विश्वकर्मा र सिगास गाउँपालिकामा जिल्ला सचिवालय सदस्य रमील बमलाई प्रतिनिधिको रुपमा खटाइएको छ ।