बैतडी–कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाका कारण बैतडीको शिवनाथ गाउँपालिका वडा नं ६ को बसेडी गाउँ पहिरोको उच्च जोखिममा परेको छ । यो भन्दा पहिला पहिरोको त्यति जोखिम नभएको गाउँमा बेमौसमी बर्षाले ठाउँ ठाउँमा चिरा पारीदिएको स्थानीय कमला धनाडीले बताइन् । उनले भनिन् ‘पहिरोले सबै खेतमा चिरा पारेको छ । गोरुले जोत्ने खेत अहिले हातले खनीरहेका छौं । खेतमा पुरै दरार परेको छ ।’
बसेडीमा पहिरोले स्थानीयका अधिकांश खेतहरु बगाएको छ । पहिरोले खेतहरु नष्ट गरेपछि अहिले गहुँ छर्न किसानहरुलाई निकै समस्या भएको स्थानीय खेट्टी धनाडीले बताइन् । लगातारको बर्षाले भिरालो जमीनमा पहिरो खसेर खेत बगाएको उनले बताइन् । उनले भनिन् ‘घरमाथिबाट खसेको पहिरोले घर जोखिममा परेको छ । माथिबाट खसेको पहिरोले घरमात्रै बाँकी राखेको छ ।’
पहिरोले बसेडीमा स्थानीयहरुको अधिकांश खेतमा क्षति पुर्याएको स्थानीय राजुराम पार्कीले बताए । लगातारको बर्षाले ठाउँठाउँमा पहिरो खस्दा गाउँ नै पहिरो जोखिममा परेको उनले बताए । उनले भने ‘ पहिरोले मेरो त घरबार नै उजाड बनाएको छ । तर अन्यहरुको खेतमा पनि पहिरोले क्षति पुर्याएको छ ।’
कार्तिक पहिलो साता परेको बेमौसमीले बर्षाले गाउँपालिकाका विभिन्न ठाउँमा क्षति पुर्याएको भएपनि वडा नं ६ को बसेडीमा बढी प्रभाव पारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने ‘पहिरोले विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।अधिकांशका घर खेत बगेका छन् । अन्य ठाउँको तुलनामा बसेडीमा बढी प्रभाव पारेको छ ।’
शिवनाथ गाउँपालिका वडा नं ६ बसेडीमा कार्तिक २ गते खसेको पहिरोले एकै घरका तीनजनाको ज्यान गएको थियो । सो गाउँका धेरै ठाउँमा पहिरो खसेकाले समस्या भएको स्थानीयहरुले बताएका छन् ।
शिवनाथ गाउँपालिकाले पहिरोले क्षति पुर्याएका ठाउँमा पुगेर तथ्यांक संकलनको काम गरिरहेको छ । तथ्यांक संकलनपछि पालिकाले राहतका बिषयमा उचित निर्णय लिने गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताइन् । उनले भनिन् ‘हामीले पीडित परिवारलाई तत्काल दिने राहत दिएका छौं । अन्यको हकमा तथ्यांक संकलनको काम गरिरहेका छौं । त्यसपछि राहत वितरणको काम गर्छौ ।’