कैलाली – स्रोत नखुलेको पौने ९ लाख नगदसहित बझाङका तीन युवा धनगढीमा जना पक्राउ परेका छन् । बझाङको मष्टा गाउपालिका वडा नं १ कोटदेवलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ८ लाख ६९ हजार नेपाली र तीन हजार दुई सय भारतीय रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालीका वडा नम्बर ४ स्थित होटल अमन प्लाजाबाट पक्राउ गरिएको उनले बताए ।
चेकजाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको रकमसहित सुनका जस्तो देखिने ३४.३६० ग्राम गरगहना र ७३७.८७ ग्राम चाँदी जस्तो धातुका विभिन्न गहना र समान पनि बरामद गरिएको बिष्टले बताए ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको बिष्टले जानकारी दिए ।