बैतडी–कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले बैतडीमा २५ प्रतिशत तरकारी खेतीमा क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहबाट प्राप्त तथ्यांक अनुसार २५ प्रतिशत तरकारीबाली पूर्ण रुपमा नष्ट भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए ।
जिल्लाको पाटन, गोकुलेश्वर लगायतका तरकारी पकेट क्षेत्रमा बर्षाका कारण बढी क्षति भएको चन्दले बताए । किसानहरुले बारीमा लगाएको बन्दा लगायतका तरकारी बर्षाले कुहेर नष्ट भएको छ ।
बेमौसमी बर्षाले बारीमा लगाएको बन्दा कुहिएको दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए । उनले भने ‘यो बर्ष बर्षाका कारण बन्दा कुहिँदा हामी किसानहरुलाई लाखौंको घाटा लागेको छ ।’
यस्तै बर्षाले अगौटे आलुखेतीमा पनि क्षति पुर्याएको कृषि प्रसार अधिकृत चन्दले बताए । जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिकबाट मात्रै तरकारी खेतीमा क्षति पुर्याएको विवरण प्राप्त भएको चन्दले बताए ।
पाटनमा २ सय हेक्टर जमीनमा तरकारी हुँदै आएकोमा ५० हेक्टरमा लगाएको तरकारी पूर्ण रुपमा नष्ट भएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए ।
जिल्लामा १ हजार २२९ हेक्टर जमीनमा तरकारी खेती हुँदै आएकोमा ३ सय हेक्टर जमीनमा लगाएको तरकारी खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।