बैतडी–बैतडीमा नेकपा एमालेको पालिकाका अधिवेशन सोमबार मात्रै सम्पन्न भएको छ । १० ओटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको एमालेको पालिका कमिटि अध्यक्षमा दलित र महिलाको प्रतिनिधित्व भने शून्य रहेको छ ।
१० ओटै स्थानीय तहमा सोमबार नेतृत्व चयन गरेको एमालेले अध्यक्षमा पदमा महिला र दलितलाई भने अटाउन सकेको छैन् । अध्यक्ष पदमा नभएपनि अन्य पदाधिकारीमा महिला र दलितको उत्साहजनक सहभागिता रहेको एमालेका जिल्ला सचिव लिलाधर भट्टले दाबी गरे । उनले भने ‘अन्य पार्टीको तुलनामा महिला र दलितको सहभागिता हाम्रो पार्टीमा धेरै भएको छ । अध्यक्षमा मात्रै नभएको हो । अन्य पदाधिकारीमा दलित र महिला अटाएका छन् ।’
सामाजिक परिवेश लगायतका कारणले मुख्य पदमा दलित र महिला अझै आउन नसकेको सचिव भट्टले बताए । उनले भने ‘महिलाको सवालमा कुरा गर्ने हो भने भर्खरै महिलाहरु राजनीतिमा आउन थालेका छन् । यस्तै सामाजिक परिवेशले पनि केही समस्या भएको छ । अबका दिनहरुमा दलित र महिला पनि नेतृत्वमा आउनेछन् ।’
८४ ओटा वडा रहेको बैतडीमा वडा कमिटि अध्यक्षमा पनि एकजना महिला अटाउन सकेका छैनन् । दलितको हकमा ४ जना वडा कमिटि अध्यक्ष चयन भएका सचिव भट्टले दाबी गरे ।
एमालेजस्तै कांग्रेसमा पनि पालिकास्तरको नेतृत्वमा महिला र दलितको प्रतिनिधित्व शून्य रहेको छ । गएको असोजमा पालिका र भदौमा वडा अधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसले १० ओटै स्थानीय तह मध्ये कुनैमा पनि सभापति पदमा महिला र दलितको प्रतिनिधित्व गराउन सकेन् । सभापतिमा नभएपनि अन्य पदमा महिला र दलितको प्रतिनिधित्व भएको नेपाली कांग्रेसका कोषाध्यक्ष रमेश पाण्डेयले दाबी गरे । उनले भने ‘सभापतिमा मात्रै महिला र दलित छैनन् । अन्य पदाधिकारीहरुमा दलित र महिलाको प्रतिनिधित्व रहेको छ ।’
८४ वडा सभापति मध्ये कांग्रेसमा एकजना पनि महिला छैनन् भने एक वडामा मात्रै दलित समुदायबाट सभापति बनेका छन् ।
दुई ठूला पार्टीका अधिवेशन सम्पन्न भएको बेला महिला र दलितको पहुँच अझै नेतृत्व तहमा पुग्न नसकेको देखिएको छ ।