Sagun Khabar
बैतडीको ढुंगाडबासी भन्छन् –‘न सेती परियोजना बन्यो, न विकास भयो’

बैतडी–चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती परियोजनाको काम अहिले सम्म पनि शुरुवात हुन सकेको छैन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बैतडी, बझाङ, डोटी र डडेल्धुराको क्षेत्रमा पर्ने सेती नदीमा ड्याम बाँधेर परियोजना सम्पन्न गर्ने सपना अहिले सम्म पनि अधुरै रहेको छ । 

पश्चिम सेती परियोजना बन्ने भनिएपछि प्रभावित क्षेत्रका नागरिकले विकासबाट समेत वञ्चित गरिएको गुनासो गरेका छन् । बुधबार मात्रै बढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि बैतडीका ढुंगाड पुगेका गृहमन्त्री बालकृष्ण खाँडलाई स्थानीयहरुले पश्चिम सेती परियोजना अघि बढाउन माग समेत गरे । तर गृहमन्त्रीले यो योजनाको बारेमा खासै नबोलेको स्थानीय नरेन्द्र रोकायाले बताए । उनले भने ‘हामीले पश्चिम सेतीको सपनाका कारण हजारौं बर्षदेखि विकासबाट वञ्चित हुनुपरेको छ । यो योजना के हुँदैन भन्नुपर्यो के लागू गर्नुपर्यो भनेर माग गरेका छौं । तर गृहमन्त्रीज्यूले यो योजनाका बिषयमा खासै बोल्नु भएन् ।’

Atrya hospital

पश्चिम सेती परियोजनाको प्रभावित क्षेत्र भनेर आफूहरुलाई सदैव विकासबाट टाढा राखिएको ढुंगाडबासीले गुनासो गरेका छन् । ‘भोली दिनका संरचना भत्काउन पर्छ, बस्ती स्थानान्तरण गर्नुपर्छ भनेर विकास गरिएन् । परियोजनाको काम समेत अगाडि बढाइएन् ।’स्थानीय पदम साउँदले भने, ‘हरेक नेताको चुनावी एजेण्डा मात्रै पश्चिम सेती बन्यो । तर काम कसैले गर्न सकेका छैनन् ।’

पश्चिम सेती परियोजनाकै कारण विभिन्न विकासबाट वञ्चित भएको स्थानीयहरुले गुनासो गरेका छन् । कार्तिक पहिलो साता आएको बाढीले ढुंगाड क्षेत्रमा बितण्डा मच्चाएपछि अहिले सो ठाउँका नागरिक सेती नदीको बाढीबाट बच्ने उपायका बारेमा समेत सरकारले ध्यान नदिँदा समस्या भएको गुनासो गरिरहेका छन् । ‘सेती नदीको बाढी आउँछ भन्ने कुरा धेरैलाई थाहा थियो । बाढी आएपछि नोक्सान गर्छ भन्ने पनि थाहा थियो । तर यो क्षेत्रमा कसैको ध्यान गएन् । बरु पश्चिम सेती बन्छ । भोलीका दिन यो ठाउँबाट अर्को ठाउँ जानुपर्छ मात्रै भनेर हामीलाई धोका दिइएको छ ।’स्थानीय ईश्वर साउँदले भने, ‘हामीलाई परियोजना बन्छ भनेर अहिले सम्म झुटा आश्वासन दिइएको छ । अब सरकारले प्रष्ट रुपमा योजना बन्ने नबन्ने बिषयमा भन्न सक्नुपर्छ ।’

७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना बन्ने चर्चा भएको चार दशक बितिसक्दा समेत केही सुरसार छैन् । सरकारले समेत यो परियोजनाका बिषयमा ठोस निर्णय गर्न नसक्दा स्थानीयबासीहरु सशंकित बनेका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update