Sagun Khabar
बैतडीमा बाढीले बगाएको विद्यालय अस्थायी रुपमा सञ्चालन

बैतडी –कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएको भगवती आधारभूत विद्यालय बोरी अस्थायी रुपमा सञ्चालनमा ल्याईएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ७ बोरीमा विद्यालयको भवन पुरै सेती नदीको बाढीले बगाएपछि अस्थायी टहरा बनाएर विद्यालय सञ्चालनमा ल्याईएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर बोहराले बताए । 

सेती नदीमा आएको बाढीले विद्यालयको पुरै भवन बगाएपछि बालबालिकाहरुको पठनपाठनका लागि टहरा बनाएर अध्यापन कार्य शुरु गरिएको उनले बताए । उनले भने ‘विद्यालय भवन बगाएपछि हामीलाई निकै समस्या भएको छ । अहिले टहरा बनाएर बालबालिकाको पठनपाठन शुरु गरेका छौं ।’

Atrya hospital

टहरामा बालबालिकाहरुको पठनपाठन कार्य निकै असहज भएको शिक्षक समेत रहेका स्थानीय पदम साउँदले बताए । उनले भने ‘अहिले जसोतसो गरेर विद्यालय सञ्चालनमा ल्याइएको छ । बालबालिकहरुलाई पठनपाठन गराउन थालिएको छ ।’

विद्यालय सञ्चालनमा ल्याएपनि उनीहरुलाई बसोबास, शौचालय लगायतको अभाव रहेको छ । एकसय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालय भवन बगाएपछि तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याईएको हो । 

सेतीनदीले बगाएको विद्यालय भवन चाँडै निर्माण गर्ने सिगास गाउँपालिकाले जनाएको छ । बाढीले पुर्याएको क्षतिको बारेमा स्थलगत अनुगमन गर्ने क्रममा सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले दुई महिनाभित्रै विद्यालय भवन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । 

विद्यालय भवन निर्माणको लागि उपयुक्त स्थानमा जमीनको खोजी गरी विद्यालय भवन निर्माण गरिने अध्यक्ष धामीले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update