बैतडी –राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बैतडीमा गणक तथा सुपरीवेक्षकहरुलाई फिल्डमा खटाइएको छ । ३१५ जना गणक र ८० जना फिल्ड सुपरभाइजरहरुलाई कार्तिक २५ गतेबाट काम गर्ने गरेर मूल गणनाका लागि खटाइसकेको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
गणकहरुले जनगणनाका बेला गर्नुपर्ने कार्यका बिषयमा तालिम मार्फत सिकाईएको उनले बताए । गणकहरुका लागि कार्तिक १३ देखि १६ गते सम्म जिल्लाका तीन ठाउँमा तालिम सञ्चालन गरिएको पन्तले बताए । उनले भने ‘हामीले गणकहरुले मूल गणनका लागि गर्नुपर्ने कामका बारेमा तालिम मार्फत सिकाएका छौं । जनगणनालाई प्रभावकारी बनाउन सबै तयारी पूरा भएको छ ।’
३१५ जना गणक मध्ये दशरथचन्द नगरपालिकामा ६५ जना, पाटन नगरपालिकामा ३६ जना, मेलौली नगरपालिकामा २७ जना र पुर्चौंडी नगरपालिकामा ४० जना खटाइएका छन् । यस्तै सुर्नया गाउँपालिकामा २५ जना, दोगडाकेदार गाउँपालिकामा २८ जना, डिलाशैनी गाउँपालिकामा २८ जना, सिगास गाउँपालिकामा २६ जना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा २१÷२१ जना गणक खटाएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
गणकहरुले प्रश्नावली सहित घरघरमै गएर परिवारमूलीबाट सूचना संकलन गर्ने बताइएको छ । ८० ओटा प्रश्न सहित गणकहरु घरघरमा पुग्ने जनगणना अधिकारी पन्तले जानकारी दिए । गणकहरुलाई सही सूचना दिन पनि उनले सबैसंग आग्रह गरे ।
जनगणना कार्यलाई प्रभावकारी बनाउनका लागि जिल्ला जनगणना कार्यालयका साथै जिल्लाका चार ठाउँमा स्थानीय जनगणना कार्यालय समेत सञ्चालनमा ल्याइएका छन् । पाटन नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा स्थानीय जनगणना कार्यालय सञ्चालनमा छन् ।
यस्तै जिल्ला जनगणना कार्यालय भित्रै दशरथचन्द नगरपालिकाको स्थानीय जनगणना कार्यालय पनि सञ्चालनमा रहेको पन्तले बताए ।