Sagun Khabar
बैतडीका चार स्थानीय तहले रिक्त दरबन्दीको विवरण आयोगलाई बुझाएनन्

 बैतडी–सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले गएको साउनमा स्थानीय तहहरुलाई रिक्त दरबन्दीको विवरण बुझाउन आग्रह गरेको भएपनि धेरै जसो स्थानीय तहहरुले अझै विवरण बुझाएका छैनन् । प्रदेशका ८८ स्थानीय तहमध्ये अझै ३८ स्थानीय तहहरुले रिक्त दरबन्दीको विवरण नबुझाएको प्रदेश लोक सेवा आयोगका सचिव दुर्गादत्त बिष्टले बताए । 

बैतडीका चारओटा स्थानीय तहहरुले अझै पनि आयोगलाई रिक्त दरबन्दीको विवरण नबुझाएका पाइएको छ । जिल्लाको मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले रिक्त दरबन्दीको विवरण नपठाएका हुन् । 

Atrya hospital

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले स्थानीय तहहरुलाई विवरण बुझाउन ताकेता गरिरहेको सचिव बिष्टले बताए । उनले भने ‘तहहरुले समयमा विवरण नपठाउँदा आयोगलाई विज्ञापन आह्वान गर्न समस्या भईरहेको छ ।’

स्थानीय तहहरुले करारमा कर्मचारी भर्ना गरेको हुनाले पनि विवरण नपठाएको हुन सक्ने अनुमान गरिएको छ । तर आयोगले रिक्त दरबन्दी र करारमा रहेकाहरुलाई समेत रिक्त मानेर विवरण पठाउन आग्रह गरेको छ । 

सुदूरपश्चिम लोक सेवा आयोगले पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुर्याईसकेकाले विवरण प्राप्त भएमा विज्ञापन आह्वान गर्न तयार रहेको जनाएको छ । 

कतिपय ठाउँबाट स्थानीय तहहरुले दरबन्दी लुकाएको भन्ने गुनासो समेत आईरहेको सचिव बिष्टले बताए । उनले भने ‘धेरै ठाउँमा विज्ञापन लुकाएको भन्ने गुनासो पनि आईरहेको छ । यस्तो भेटिएमा प्रदेश लोकसेवा आयोग ऐन अनुसार कार्यालय प्रमुखलाई विभागीय कारवाही हुन्छ ।’
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update