बैतडी–बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा तिहारसंगै खर काट्ने चटारो बढेको छ । हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन अनुसार खर काट्ने चटारो बढेको सुर्नया गाउँपालिका ६ का स्थानीय जयन्ती अवस्थीले बताइन् । उनले भने ‘असोज पहिलो सातादेखि नै खर काट्ने क्रम शुरु भएपनि अझै पनि जारी रहेको छ ।’
यो बर्ष कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले केही ठाउँका काटेको खरमा नोक्सानी पुर्याएको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंकी पार्वती बोहराले बताइन् । उनले भनिन् ‘कार्तिक पहिलो साता परेको अविरल बर्षाले काटेको खर कुहेको छ । यसले गर्दा समस्या भएको छ ।’
सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाहरुले हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि असोज कार्तिकमा खर काटेर थुप्रो बनाउने गरेका छन् । कुन्युमा थुप्रो बनाएको खरलाई हिउँदको समयमा गाईवस्तुलाई खुवाउने गरिन्छ । तर यो बर्ष खरमा क्षति पुगेकाले समस्या हुन सक्ने स्थानीयहरुले बताएका छन् ।
कार्तिक पहिलो साता परेको अविरल बर्षाले खरमा क्षति पुर्याएकाले समस्या भएको सुर्नया ४ की हीरा महराले बताइन् ।
बर्षाका कारण खर काट्नमा यो बर्ष केही ढिलाई भएको छ । तिहारको साथसाथै गाउँघरमा खर काट्ने चटारो समेत बढेको स्थानीयहरुले बताएका छन् ।