Sagun Khabar
टमाटरमा डढुवा रोग लागेपछि बैतडीका किसान चिन्तित 

बैतडी –बैतडीको मेलौली नगरपालिका ७ पच्कोराका किसान टमाटर खेतीमा डढुवा रोग लागेपछि चिन्तित बनेका छन् । पहिलो पटक पोली हाउसमा टमाटर खेती गरेको भएपनि डढुवा रोगका कारण सबै सखाप भएको स्थानीय किशोर कार्कीले बताए । उनले भने ‘हामीले यो बर्ष सहकारी संस्था मार्फत पोली हाउस र बीउ अनुदानमा पाएका थियौं । पहिला राम्रै थियो । तर अहिले डढुवा रोग लागेर टमाटर खेती सखाप भएको छ ।’

पच्कोराका ५० परिवार किसानलाई व्यवसायिक तरकारी खेतीमा आकर्षण गराउनका लागि नगरपालिकाको सहयोगमा कृषि सहकारी संस्थाले पोली हाउस र बीउ वितरण गरेको थियो । पोली हाउसभित्र लगाएको सबै टमाटरमा डढुवा रोग लागेर सखाप भएको स्थानीय किसान इन्द्र कार्कीले बताए । उनले भने ‘हामीले पोली हाउसमा मिहनेत गरेर तरकारी खेती गरेका थियौं । तर डढुवाका कारण हामीले टमाटरमा क्षति बेहोरेका छौं ।’

Atrya hospital

तापक्रम लगायतका कुराहरु नमिल्दा टमाटर डढुवा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए । पातमा मात्रै लागेको भए यसलाई नियन्त्रण गर्न सकिने भएपनि फलमा लागेको भए नियन्त्रण गर्न गाह्रो उनले बताए । 

डढुवा रोग लागेको ठाउँमा कपर अप्सी क्लोराइड नामक बिषादी प्रयोग गर्न सकिने कृषि प्रसार अधिकृत चन्दले बताए । उनले भने ‘अहिले चिसोको समयमा यसको प्रकोप बढी देखिन सक्छ । त्यसैले यो रोग लागेको बोटहरुको पात उखेलेर फाल्नुपर्ने हुन्छ ।’
 

प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update