बैतडी–बैतडीमा तिहारको समयमा बजार नहुँदा उपभोक्तामा मारमा परेका छन् । तिहारको समयमा बजारमा सामग्री भाउ बढेको स्थानीयहरुले बताएका छन् । कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाका कारण बाटो अवरुद्ध भएको कारण देखाउँदै खानेतेल लगायतका दैनिक उपभोग्य सामग्रीमा भाउ बढेको सुर्नया ६ का खेमराज अवस्थीले बताए । उनले भने ‘सबै सामग्रीमा भाउ बढेको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले बजार छुन नसक्ने अवस्था आएको छ ।’
बजारमा म्याद नाघेका, लेबल नभएका, बिग्रेका, सडेगलेका सामान तिहारको समयमा बढी विक्रि हुने गरेको भएपनि अनुगमन नहुँदा समस्या भएको स्थानीयहरुको भनाई छ । बजार अनुगमनले व्यापारीहरु केही सचेत हुने गरेको भएपनि यो बर्ष तिहारको समयमा बजार अनुगमन नहुँदा उपभोक्ताहरु मारमा परेका हुन् ।
व्यापारीहरुले दैनिक उपभोग्य सामग्री मूल्य नै बढेकाले स्थानीय बजारमा पनि भाउ बढेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले दशैंको बेला बजार अनुगमन गरेको भएपनि तिहारमा भने बजार अनुगमन गर्न नसकिएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गएको एक महिनादेखि जिल्ला बाहिर रहेका र अन्य सरोकारवाला निकाय पनि तिहारभन्दा अगाडि नै बिदामा रहेकाले अनुगमन हुन नसकेको उनले बताए । उनले भने ‘कर्मचारीको अभावमा बजार अनुगमन गर्न सकिएको छैन् । अब बजार अनुगमन कार्यलाई अघि बढाउँछौं ।’
बैतडीमा तिहारपछि विभिन्न ठाउँमा जात्रा तथा मेला लाग्ने भएकाले बजार अनुगमन गरिने निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । उनले भने ‘तिहार लगत्तै जात्रा शुरु भईसकेका छन् । अब बजार अनुगमन कार्यलाई अगाडि बढाउछौं । जात्राको समयमा कालोबजारी नहोस भनेर अनुगमन गर्छौ ।’
नियमित रुपमा बजार अनुगमन भईरहे व्यवसायी र उपभोक्ता दुवै सचेत हुने भएपनि नियमित बजार अनुगमन नहुँदा समस्या हुने गरेको दशरथचन्द नगरपालिका १ का देवदत्त भट्टले बताए । बजार अनुगमन पनि प्रभावकारीरूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
यसअघि चालु आर्थिक बर्षमा अहिले सम्म बजार अनुगमन गर्दा दुई लाख ५० हजार मूल्य बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरि नष्ट गरिसकिएको छ ।