Sagun Khabar
सेती नदीमा पक्की तटबन्ध लगाउनुपर्ने ढुंगाडबासीको माग 

बैतडी –बैतडीको ढुंगाडबासीले सेती नदीमा पक्की तटबन्ध लगाउन माग गरेका छन् । सेती नदीले बेलाबेलामा दुख दिने गरेकाले त्यसबाट मुक्ति पाउनका लागि पक्की तटबन्धको माग गरिएको स्थानीय नरेन्द्र रोकायाले बताए । 

कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले ढुंगाडका स्थानीयहरुको खेत बगाएर बगरमा परिणत गरेको छ । केही बर्ष पहिला पनि सेती नदीको बाढीले स्थानीयहरुको घर खेत बगाएकाले पक्की तटबन्ध निर्माण गरिनुपर्ने माग गरिएको स्थानीय पदम साउँदले जानकारी दिए । उनले भने ‘सेती नदीमा पक्की तटबन्ध लगाउनुको विकल्प छैन् । के बस्ती स्थानान्तरण गर्नुपर्छ । नत्र तटबन्धको व्यवस्था नभए सेतीले ठूलो क्षति निम्त्याउन सक्छ ।’

Atrya hospital

सेती नदीमा तटबन्ध लगाउन नसके अब बस्ती नै जोखिममा रहेकाले तटबन्ध लगाउनु आवश्यक रहेको स्थानीय राजेन्द्र चन्दले जानकारी दिए । सेती नदीले बर्षेनी दुख दिँदै आएकाले यसको समाधानका लागि तटबन्ध लगाउनुपर्ने आफूहरुको माग रहेको स्थानीय ईश्वर साउँदले बताए । उनले भने ‘बाढी प्रभावित क्षेत्रमा पुगेका सबैसंग आफूहरुले बस्ती स्थानान्तरण अथवा पक्की तटबन्ध हुनुपर्ने माग गरेका छौं । तटबन्ध लगाइएन भने बस्ती नै जोखिममा छ ।’

बैतडीको बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री, गृहमन्त्री, सांसद र स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुले स्थलगत अवलोकन गरिसकेकाले सबैसंग आफूहरुले तटबन्धको माग राखेको स्थानीयहरुको भनाई छ । 

ढुंगाड क्षेत्रमा सेती नदीले बर्षेनी क्षति पुर्याउँदै आएकाले आफूले पनि संघीय सरकारसंग बस्ती स्थानान्तरण अथवा पक्की तटबन्धको माग गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । सेती नदीले प्रत्येक बर्ष जमीन कटान गर्दै गएको र अब बस्ती पनि जोखिममा परेकाले यो तर्फ ध्यान आग्रह गरिएको उनले बताए । 

सेती नदीमा पक्की तटबन्ध निर्माणका लागि पालिकाको बजेटले नभ्याउने भएकाले आफूहरुले प्रदेश तथा संघ सरकारको ध्यानाकर्षण गराएको धामीको भनाई छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update