बैतडी –बैतडीको सुर्नया गाउँपालिका २ सिउडेस्थित नेपाल राष्ट्रिय मावि ग्वानीमा गरिएको तालाबन्दी खुलेको छ । विद्यालयको मल्टिपल भवन निर्माणका क्रममा खरीद गरिएको सामग्रीको पैसा नतिरेको भन्दै व्यापारीहरुले गएको असोज १७ गते तालाबन्दी गरेका थिए ।
विद्यालय भवन निर्माणमा अनियमितता भएको, व्यापारीहरुको पैसा नतिरेको लगायतका आरोप लगाउँदै गरिएको तालाबन्दी आइतबार खोलिएको हो ।
विद्यालय भवन निर्माणका लागि पुनः स्टमेट गरेर काम अघि बढाउने, व्यापारीहरुको तिर्नुपर्ने रकम आगामी भदौ मसान्त सम्म तिरिसक्ने र त्यसका लागि व्यापारीहरुलाई लिखित जमानी कागज दिएपछि विद्यालयमा गरिएको तालाबन्दी खोलिएको विद्यालय व्यवस्थापन समितिअध्यक्ष समेत रहेकी सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लिला बिष्टले बताइन् ।
व्यापारीहरुको तिर्नुपर्ने नियमसंगत हिसाब तिर्नका लागि विद्यालय व्यवस्थापन समितिका सदस्य डम्मरबहादुर बिष्ट, वडा सदस्य जीतबहादुर बिष्ट र दानबहादुर बिष्ट जमानी बसेर कागज समेत बनाइएको उपाध्यक्ष बिष्टले बताइन् ।
यस्तै विद्यालयको मल्टिस्टोर भवन निर्माण कार्यलाई अघि बढाउनका लागि पुनःस्टमेट गरेर थप आवश्यक लागतका लागि श्रोत जुटाउने निर्णय समेत भएको उनले बताइन् । उनले भनिन् ‘हामीले विद्यालय व्यवस्थापन समितिका तर्फबाट पनि निर्णय गरेका छौं । भवन निर्माण कार्यलाई पनि अघि बढाउने, तिनुपर्ने नियम अनुसारको रकम तिर्ने र विद्यालयमा पठनपाठन कार्यलाई अघि बढाउने निर्णय गरेका छौं ।’
नेपाल राष्ट्रिय माविमा जनश्रमदान सहित मल्टिस्टोर भवन निर्माणका लागि यसअघिको विद्यालय व्यवस्थापन समितिले सुर्नया गाउँपालिकासंग ४७ लाखको सम्झौता गरेको थियो । गत असारमै भवन निर्माण गरिसक्ने भन्दै सम्झौता गरिएको भएपनि भवन निर्माण कार्य अझै अधुरो रहेको छ ।
सो मल्टिस्टोर भवन निर्माणका लागि गाउँपालिकाका तर्फबाट ३६ लाख भुक्तानी गर्ने र बाँकी ११ लाख जनश्रमदान गर्नुपर्ने सम्झौता भएको थियो । तर निर्माण समितिले भवन निर्माणका लागि रकम कम भएकाले समयमै भवन निर्माणको काम नसकिएको बताउँदै आएको छ ।