बैतडी –बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जात्राको रौनक शुरु भएपछि गाउँघरमा चहलपहल बढेको छ । कार्तिक शुक्ल पक्षभरी विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा लाग्ने भएपछि गाउँघरमा चहलपहल बढेको हो ।
बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन रांगाको बलि सहित जात्रा हुने गरेको छ । यो जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीय आनन्दमणी भट्टले जानकारी दिए । त्रिपुराको जात्रामा सहभागी हुनका लागि बसाईसराई गरेर गएकाहरु समेत गाउँमा फर्किएकाले चहलपहल बढेको उनले बताए । उनले भने ‘दशैंतिहार पछि मनाइने त्रिपुराको जात्रामा सहभागी हुनका लागि बसाईसराई गरेकाहरु पनि पुख्र्यौली थलोमा आउने भएकाले गाउँमा चहलपहल बढेको छ ।’
यस्तै जिल्लाको प्रसिद्ध शिवनाथ धाममा पनि कार्तिक शुक्ल अष्टमीकै दिन जात्रा लाग्ने गर्दछ । सो जात्रामा सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु पनि सहभागी हुने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । यो जात्रामा सहभागी हुनका लागि गाउँ बाहिर रहेकाहरु पनि घर फर्केकाले गाउँमा चहलपहल बढेको उनले बताए । उनले भने ‘बर्षौंसम्म भेट नभएकाहरुको भेटघाट गर्ने माध्यम पनि जात्रा नै हो । घर बाहिर रहेकाहरु पनि जात्राका लागि गाउँ फर्केकाले गाउँघरमा चहलपहल बढेको छ ।’
यस्तै प्रसिद्ध मेलौली भगवती मन्दिर र फाल्ङासैनी भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमा दिन जात्रा लाग्ने गर्दछ । यस्तै प्रसिद्ध रौलाकेदार धाममा कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । जात्राका लागि गाउँघर पुग्नेको संख्या बढेको रौलाकेदार मन्दिरका पूजारी विष्णुदत्त भट्टले जानकारी दिए । जात्राको रौनक शुरु भएसंगै गाउँघरमा चहलपहल बढेको उनले बताए ।
कार्तिक शुक्ल पक्षमा मन्दिर तथा शक्तिपीठहरुमा लाग्ने जात्रालाई सामाजिक सम्बन्धको पर्वका रुपमा समेत लिइने स्थानीय संस्कृतिका जानकार देवदत्त भट्टले जानकारी दिए । यी जात्रामा दर्शनका लागि टाढा रहेकाहरु पनि आउने गरेकाले भेटघाट हुनुका साथै पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने उनले बताए । उनले भने ‘हिजोआज गाउँघरमा चहलपहल बढेको छ । गाउँबाट बसाई सरेकाहरु पनि गाउँ फर्कने भएकाले निकै चहलपहल बढेको छ ।’
बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी लगायतका जिल्लाहरुमा रहेका मन्दिर तथा शक्तिपीठहरुमा जात्रा शुरु भएसंगै गाउँघरमा चहलपहल बढेको स्थानीयहरुले बताएका छन् ।