बैतडी–करेन्ट लागेर मृत्यु भएको भनिएका दार्चुलाको बसरका ३५ वर्षीय प्रेम महराको हत्या भएको आशंका गरिएको छ । जिल्लाको मार्मा गाउँपालिका ४ बिम्थी बसर बस्ने महराको वडा न. २ को लामबगरस्थित गणेश सिंह बिष्ट र शेरसिंह बिष्टको घरमा ढलान गर्ने क्रममा मृत्यु भएको थियो ।
उनको योजनाबद्ध तवरले हत्या गरिएको आशंका रहेको मृतकका भतिज सुरेन्द्र महराले बताए । हत्या गरिएका प्रमाणहरु समेत फेला पर्न थालेकाले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने उनले बताए ।
करेन्ट लागेको भनिएका व्यक्तिको टाउकोमा गम्भीर चोट रहेको र लटिनाथ स्वास्थ्यचौकीमा पुग्ने बितिक्कै पर्याप्त रगत बगेको मृतकका आफन्तले बताएकाछन् ।
घटना भएको भनिएको ठाउँमा त्यसदिन १सय बढी मान्छेहरु भएपनि उनिहरुले फरक–फरक कुराहरु बताइरहेको पीडित पक्षको भनाई छ । मृतकका आफन्त घटनास्थलमा नपुग्दै महरा घाइते भएको भनी अन्यत्रै लगिएको स्थानिय प्रकाश धामीले बताए ।
मिस्त्री पेषामा आवद्ध रहेका महराको शब अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला पु¥याइएको छ । मृतकका आफन्तले हत्याको आंशका सहित जाहेरी दिएकाले घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
घटना भएको दिन घर ढलान कार्यमा संलग्न ब्यक्तिहरु माथी नै आफन्तले आंशका गरेकाले घटनाको सत्यतथ्य छानबिन गरिने दार्चुलाका प्रहरी प्रवक्ता माधव विश्वकर्माले बताए ।