बैतडी –बैतडीको सिगास गाउँपालिका वडा नं १ मा विद्युत विस्तार गर्दा मजदुरहरुले काम गरेको पैसा नपाएको गुनासो गरेका छन् । आर्थिक बर्ष २०७३÷७४ मा काम गरेको भएपनि अहिले सम्म ज्याला नपाएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएका छन् ।
पोल ढुवानीका क्रममा स्थानीय सुरेन्द्रबहादुर ऐरीलाई चोटपटक लागेको र उपचार बाफतको पैसा समेत नदिएको निवेदकहरुले बताएका छन् । ऐरीको उपचारका लागि २० हजार ऋण लिएको र सो ऋण पछि समितिले तिर्ने भनेपनि नतिरेको निवेदकहरुको आरोप छ ।
यस्तै मजदुरहरुले काम गरेको ५५ हजार रुपैंया समेत नपाएको स्थानीय बल्देव ऐरीले बताए । विद्युत विस्तारका लागि गठन भएको उपभोक्ता समितिका अध्यक्ष लोकराज भट्टले मजदुरहरुलाई वडा कार्यालयबाट भुक्तानी हुने आश्वासन दिएपनि अहिले सम्म भुक्तानी भएको छैन् ।
यता वडा कार्यालयमा समेत सम्पर्क राख्दा आफूहरुले ज्याला नपाएको भन्दै स्थानीयहरुले प्रशासनमा निवेदन दिएका हुन् । ‘हामीले वडा अध्यक्ष गगनसिंह धामीलाई पनि हाम्रो समस्याका बारेमा जानकारी गरायौं । अध्यक्षले उपभोक्ता समितिका अध्यक्षसंग माग भन्ने उपभोक्ता समितिका अध्यक्षले वडा अध्यक्षसंग माग भन्ने हामीले कहाँ जाने ?’स्थानीय बल्देव ऐरीले भने, ‘हामी मजदुरको पैसा पाउनुपर्यो भनेर हामीले जिल्ला प्रशासनमा निवेदन दिएका हौं ।’
ज्यालाको बिषयमा अदालत जानुपर्ने भएपनि प्रशासनमा निवेदन आएपछि यो बिषयमा सिगास गाउँपालिकालाई बुझ्न भनेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । मजदुरहरुले के कति कारणले ज्याला नपाएको हो सो बिषयमा जानकारी गराउन लिखित आग्रह गरिएको उनले बताए ।