बैतडी –बैतडीको सिगास गाउँपालिका ९ चौखामस्थित प्रसिद्ध सिगास मन्दिरमा जात्रा शुरु भएको छ । कार्तिक शुक्ल पञ्चमीदेखि शुरु भएको जात्रा कार्तिक शुक्ल अष्टमीका दिन बिशेष पूजाआजा हुने गरेको स्थानीय जनकसिंह धामीले बताए ।
कार्तिक शुक्ल अष्टमीको राती सिगास मन्दिरमा जात्रा भएपछि कार्तिक शुक्ल दशमीका दिन कैलपाल मन्दिरमा जात्रा हुने गर्दछ । कैलपाल देवतालाई सिगास देवताको द्वारपालको रुपमा लिने गरिएको छ ।
सिगास, कैलपालको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको सिगास मन्दिरका पूजारी चुडामणी अवस्थीले बताए । असोजको नवरात्रमा जात्रा नभएमा कार्तिक शुक्ल पक्षमा दुवै मन्दिरमा जात्रा हुने गरेको उनले बताए ।
सिगास –कैलपालको जात्रामा बैतडी सहित डडेल्धुरा, बझाङ र डोटीका दर्शनार्थी समेत पुग्ने गरेको बताइएको छ । मेलालाई व्यवस्थित बनाउन मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको धामीले बताए ।