बैतडीको दशरथचन्द नगरपालिकाले कांग्रेसको जिल्ला अधिवेशनका लागि भन्दै चार विद्यालयलाई तीन दिन सम्म पठनपाठन बन्द गर्न पत्राचार गरेको छ ।
बुधबार बसेको नगर कार्यपालिकाको बैठकले सदरमुकाम आसपासका वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुंगा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई पठनपाठन बन्द गरी भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरेको नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
यसको सामाजिक सञ्जालमा तिब्र आलोचना भइरहेको छ । नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा बैतडीमा कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि मंसिर ५ देखि तीन दिनसम्म विद्यालय बन्द गर्न भनिएको छ । ‘बुधबार पालिकाको स्थानीय बिदामा कटाउने गरी तीन दिन विद्यालय बन्द गर्ने भनेर पत्र आएको थियो । वीरेन्द्र माविका प्राचार्य कैलाश कनौजियाले विद्यालयलाई पत्र आइसकेपछि यस विषयमा जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाइएको जानकारी दिए ।