बैतडी –बैतडीमा नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको नेतृत्वका लागि मतदान बैतडी प्रदेश सभा क्षेत्र (ख)मा मतदान कार्य सम्पन्न भएको छ । बिहानदेखि शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको मतदान अधिकृत घनश्याम लेखकले बताए ।
प्रदेश सभा क्षेत्र (ख)मा ४३ वडाका ७०८ प्रतिनिधि रहेकोमा ६७५ मत खसेको लेखकले बताए । साँझ सात बजेपछि मतगणना शुरु हुने उनले बताए ।
यता प्रदेश सभा क्षेत्र (क)मा भने मतदान जारी रहेको छ । बिहान मतदान कार्य ढिला शुरु भएकाले साँझ सात बजेसम्म मतदान जारी रहने नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले बताए ।
बैतडीमा शिवराज भट्ट र चतुरबहादुर चन्दको प्यानल अलगै टीम बनाएर चुनावी मैदानमा होमिएको छ । भट्ट प्यानले आफू संस्थापन पक्ष भएको दाबी गरेको भएपनि चन्द प्यानले आफू संयुक्त संस्थापन प्यानल भएको दाबी गरेको छ ।
प्रदेश सभा क्षेत्र (क)का लागि शिवराज भट्ट नेतृत्वको प्यानलबाट सभापतिमा विष्णुप्रसाद भट्ट, उपसभापतिमा कर्णबहादुर जागरी र हर्कबहादुर बिष्ट, सचिवमा तेजबहादुर साउँद र रिकेशबहादुर बोहरा र सहसचिवमा अम्बादत्त पन्त र दीपकसिंह धामी चुनावी मैदानमा छन् ।
यस्तै प्रदेशसभा क्षेत्र (क)का लागि चतुरबहादुर चन्द प्यानलबाट सभापतिमा हिमालयबहादुर बम, उपसभापतिमा नवीनराज अवस्थी र राजेन्द्रप्रसाद अवस्थी, सचिवमा अमरसिंह धामी र भुवनराज भट्ट र सहसचिवमा गणेशसिंह साउँद र रामचन्द्र महरा चुनावी मैदानमा छन् ।
यस्तै प्रदेश सभा क्षेत्र (ख)का लागि शिवराज भट्ट प्यानलबाट सभापतिमा महेशदत्त भट्ट, उपसभापतिमा देवबहादुर चन्द र राकेशसिंह बिष्ट, सचिवमा प्रेमबहादुर चन्द र कृष्णबहादुर बोहरा र सहसचिवमा रतनसिंह कार्की र रमेशसिंह मेहता चुनावी मैदानमा छन् ।
यस्तै प्रदेश सभा क्षेत्र (ख)का लागि चतुरबहादुर चन्द प्यानलबाट सभापतिमा शिवराज भट्ट, उपसभापतिमा मोहनबहादुर चन्द र नरेशबहादुर चन्द, सचिवमा देवदत्त भट्ट र धनबहादुर क्षेत्री र सहसचिवमा महेशसिंह बिष्ट र महादेवसिंह धनाडीको उम्मेद्वारी चुनावी मैदानमा छन् ।
प्रदेश क्षेत्रीय अधिवेशनले दुवै क्षेत्रमा ७÷७ जना पदाधिकारी, ७÷७ जना प्रदेश खुल्ला प्रतिनिधि, ३ जना प्रदेश खुल्ला महिला प्रतिनिधि, १ जना दलित प्रतिनिधि, १ जना आदिवासी जनजाती प्रतिनिधि, १ जना अल्पसंख्यक वा अपांग प्रतिनिधि, ३ जना खस आर्य प्रदेश प्रतिनिधि र २ जना खस आर्य महिला प्रदेश प्रतिनिधि चयन गर्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।