बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला नेतृत्वमा शिवराज भट्ट प्यानललाई जिताउन कांग्रेसका भातृसंगठनहरुले अपिल गरेका छन् ।
प्रदेश क्षेत्रीय अधिवेशन सम्पन्न भईसकेको र जिल्ला अधिवेशनको प्रक्रिया शुरु भईसकेकाले सबल र सुदृढ कांग्रेसका लागि भट्ट प्यानललाई जिताउन भातृसंगठनहरुले अपिल गरेका हुन् ।
सोमबार संयुक्त अपिल जारी गर्दै भातृसंगठनहरुले बैतडीमा संस्थापन पक्षको टीम शिवराज भट्ट नेतृत्वको प्यानल भएकाले सभापति र अन्य पदमा सोही टीमलाई जिताउन अपिल गरिएको छ ।
नेपाल महिला संघ बैतडीका अध्यक्ष देवु ठगुन्ना, नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसी, नेपाल दलित संघ बैतडीका अध्यक्ष रमेश कोली र नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले संयुक्त रुपमा अपिल जारी गरेका हुन् ।
बैतडीमा कांग्रेसको नेतृत्वका लागि शिवराज भट्ट र चतुरबहादुर चन्दको प्यानल चुनावी मैदानमा छ । प्रदेश क्षेत्रीय अधिवेशनको नतिजा अनुसार चन्द प्यानल बलियो देखिएको बिश्लेषण गर्न थालिएको छ ।