बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा आज जिल्ला अधिवेशन उद्दघाटन गर्ने कार्यक्रम रहेको भएपनि स्थगित गरिएको छ । आइतबार जिल्लामा भएको जिप दुर्घटनामा एकै वडाका ५ जनाको मृत्यु भएको र त्यसमा क्रियाशील सदस्य समेत परेकाले उद्दघाटन सत्र स्थगित गरिएको सचिवका उम्मेद्वार रमेशसिंह भण्डारीले बताए ।
जिप दुर्घटनामा परेर कांग्रेसका क्रियाशील सदस्यहरुको मृत्यु भएकाले शोकका कारण उद्दघाटन सत्र रोकिएको हो । बैतडीमा आइतबार राती म १ ज ३१० नम्बरको जन्ती बोकेको जिप दुर्घटना हुँदा जिपमा सवार ७ जना मध्ये ६ जनाको मृत्यु भएको थियो । एक जना घाइतेको धनगढीमा उपचार भईरहेको छ ।
जिल्ला अधिवेशनको उद्दघाटन सत्र रोकिएपनि निर्वाचन प्रक्रिया भने शुरु भईसकेको छ । कांग्रेसको जिल्ला नेतृत्व चयनका लागि भोली (मंगलबार) मतदान हुने कांग्रेस बैतडीले जनाएको छ ।
बैतडीमा कांग्रेसको नेतृत्वका लागि शिवराज भट्ट र चतुरबहादुर चन्दको प्यानल चुनावी मैदानमा रहेको छ ।