बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा प्रदेश क्षेत्रीय अधिवेशन सम्पन्न भईसकेको छ । जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया शुरु भएपछि दुवै पक्षले आ–आफ्नो आँकलन गर्न थालेका छन् ।
प्रदेश क्षेत्रीय अधिवेशनले चतुरबहादुर चन्द प्यानल उत्साहित भएको छ । प्रदेश क्षेत्र (ख) मा पदाधिकारी सहित सबै प्रतिनिधि आफ्नो पक्षमा पार्न सफल भएको सो प्यानलले (क) क्षेत्रमा पनि तीन जना प्रतिनिधि पाएको छ ।
प्रदेश क्षेत्रीय अधिवेशनको नतिजाले जिल्ला नेतृत्व आफ्नो प्यानलले पाउने चन्द प्यानलका नेताहरुले बताएका छन् । ‘प्रदेश क्षेत्रको अधिवेशनले हामीलाई निकै उत्साहित बनाएको छ । हामी जिल्ला नेतृत्वमा जित्ने कुरामा ढुक्क छौं ।’(ख) क्षेत्रका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले भने, ‘हामी दुवै क्षेत्रमा बलियो अवस्थामा छौं । यसकारण हामी निर्वाचनमा जित्छौं ।’
चन्द प्यानललाई पौडेल पक्ष भनिएपनि विगतमा शेरबहादुर देउवा टीममै रहेका नेताहरुको उम्मेद्वारी पनि रहेकाले उनीहरुले संयुक्त संस्थापन पक्ष भन्दै आएका छन् । प्रदेश क्षेत्रीय अधिवेशनको नतिजाले आफ्नो प्यानलको जित हुने संकेत गरेको चन्द प्यानलका उपसभापतिका उम्मेद्वार रमेश पाण्डेयले बताए । उनले भने ‘हामी दुवै पक्षका नेताहरुको जमघटमा टीम बनेको हो । त्यसैले हामी संस्थापन संयुक्त प्यानल हौं । हाम्रो टीमले निर्वाचन जित्ने कुरामा हामी ढुक्क छौं ।’
बैतडीमा कांग्रेसको नेतृत्वका लागि शिवराज भट्ट र चतुरबहादुर चन्दको प्यानल चुनावी मैदानमा रहेको छ ।