बैतडी–बैतडीको गाँजरी स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री स्वास्थ्य चौकी भएपछि किशोरकिशोरीहरुलाई सेवा लिन सहज भएको छ । किशोरकिशोरीहरुका लागि अलगै कक्षको व्यवस्थापन गरेर उनीहरुलाई सेवा दिने गरिएको गाँजरी स्वास्थ्यचौकीका प्रमुख जनकसिंह धामीले बताए । उनले भने ‘हामीले किशोरकिशोरीहरुलाई दक्ष स्वास्थ्यकर्मीबाट गोपनियताका साथ सेवा दिने गरेका छौं ।’
किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका मापदण्ड अनुसार किशोरकिशोरीहरुलाई उनीहरुको आवश्यकता अनुसार सेवा शुरु गरेपछि सेवाग्राहीको संख्या पनि बढेको धामीले बताए ।
गाँजरी स्वास्थ्यचौकीमा किशोरकिशोरीहरुका लागि अलगै कक्षको व्यवस्थापन गरेर सेवा दिन थालेपछि आफूहरुलाई सजिलो भएको किशोरी सविना धामीले बताइन् । उनले भनिन् ‘गाँजरी स्वास्थ्यचौकीमा हामीहरुका लागि अलगै कक्षको व्यवस्थापन गरेर सेवा दिन थालेपछि सजिलो भएको छ । हाम्रा समस्याहरु हामी खुलेर राख्न सक्ने भएका छौं ।’
गाँजरी स्वास्थ्यचौकीले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका मापदण्ड पूरा गरेपछि सो स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री प्रमाणीकरण समेत गरेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले गाँजरी स्वास्थ्यचौकीलाई प्रमाणीकरण गरेको हो । गाँजरी स्वास्थ्यचौकीले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका सूचक मध्ये ९८ प्रतिशत पूरा गरेकाले प्रमाणीकरण गरिएको हो ।
गाँजरी स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्यसंस्था बनाउन संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र आड्रा नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेको आड्रा नेपालका कार्यक्रम संयोजक राजीव यादवले बताए । यो संगै बैतडीमा किशोरकिशोरीमैत्री स्वास्थ्यसंस्थाको संख्या १० पुगेको छ ।