Sagun Khabar
बैतडीमा पूर्व राज्यमन्त्री र पूर्व पार्टी सचेतक महाधिवेशन प्रतिनिधिमा पराजित 

बैतडी– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा कांग्रेसका पुराना नेताहरु पराजित भएका छन् । पूर्व वाणिज्यराज्यमन्त्री नरबहादुर चन्द र पूर्व पार्टी सचेतक विनयध्वज चन्द महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । 
वैचारिक र बौद्धिक नेताका रुपमा गनिने नरबहादुर चन्द विगतमा शेरबहादुर देउवा पक्षका नेताको रुपमा रहेका थिए । तर यो पालि सो समूहले महाधिवेशन प्रतिनिधिमा ठाउँ नदिएपछि उनी बिना प्यानल चुनावी मैदानमा होमिएका थिए । चन्दले जम्मा २४० मत मात्रै प्राप्त गरे । 

यस्तै पार्टीका पूर्व मुख्य सचेतक विनयध्वज चन्द पनि पराजित भएका छन् । विपी विचार राष्ट्रिय समाजका महासचिव समेत रहेका चन्द दुई पटक बैतडीबाट सांसदमा निर्वाचित भएका थिए । उनी भट्ट प्यानलबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार बनेका थिए । उनी ५१५ मत ल्याएर पराजित भएका छन् । 

Atrya hospital

कांग्रेसका पुराना नेता एवं बौद्धिक नेताहरुलाई यो महाधिवेशनले अन्याय गरेको नेपाली कांग्रेस बैतडीका सदस्य रमेश बोहराले बताए । उनले भने ‘पुराना नेताहरुको योगदानको कदर नगर्दा भोली पार्टीमा अनुशासन कायम हुँदैन् । नयाँ पिँढीमा छाडापन आउने हुन्छ ।’

पार्टीमै जीवन बिताएका नेताहरुलाई आउट गर्नु कांग्रेसजनका लागि राम्रो नभएको कार्यकर्ताहरुले बताए । ‘अहिले पार्टीमा ठेकेदार प्रणाली लागू भएको छ । सिद्धान्त र विचार कमजोर हुँदै गएको छ ।’बोहराले भने, ‘कांग्रेसलाई ठीक ठाउँमा ल्याउन इमान्दार नेता कार्यकर्ता एकजुट हुनुपर्दछ ।’

यस्तै नेपाली कांग्रेसका पूर्व पार्टी सभापति नरेन्द्र बिष्ट पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०९:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update