बैतडी–बैतडीको शिवनाथ गाउँपालिका १ बछेलाका हरिसिंह साउँद केही दिन पहिला औषधि उपचारका लागि भारत पुगे । महाकाली नदीमा झोलुंग पुल नहुँदा उनी डुंगा मार्फत महाकाली नदी तरेर भारत पुगे । तर उनले एकपटक भारतीय क्षेत्रमा जाँदा डुंगा चालकलाई चार सय भारतीय रुपैंया शुल्क तिरे । फेरी फर्किँदा उसैगरी चारसय भारु तिरेर नेपाल भित्रिए । उनले भने ‘हामी दैनिक जसो सीमावर्ती भारतीय बजारमा जाने गरेका छौं । तर डुंगा चालकहरुले मनोमानी शुल्क लिँदा हामी निकै समस्यामा परेका छौं ।’
तल्लोसोराडका शिवनाथ र पञ्चेश्वरका अधिकांश नागरिक दैनिक उपभोग्य सामग्री, औषधि उपचार लगायत अन्य कामका लागि भारतीय बजारमा जाने गरेका छन् । तर पछिल्लो समयमा डुंगा चालकले मनोमानी शुल्क लिन थालेपछि उनीहरु मारमा परेका छन् । डुंगा चालकले आफूखुसी एक पटक तारेको ६ सय रुपैया लिने गरेको शिवनाथ गाउँपालिका १ बण्डका माधवसिंह साउँदले बताए । उनले भने ‘हामी सीमावर्ती भारतीय बजारमा विभिन्न कामका लागि पुग्ने गर्दछौं । वारीपारी इष्टमित्रहरु पनि छन् । तर डुंगा चालकहरुले मनोमानी शुल्क लिँदा हामीलाई धेरै समस्या भएको छ ।’
बैतडीको तल्लोसोराडका आधा दर्जन बढी घाटमा डुंगा मार्फत आवतजावत गर्ने गरिएको छ । प्रशासन र स्थानीय सरकारले डुंगा चलाउन रोक लगाएको भनेपनि चालकहरुले मनोमानी डुंगा सञ्चालन गरिरहेका छन् । नियमनकारी निकायहरुको ध्यान नजाँदा स्थानीयहरु दैनिक रुपमा ठगिँदै आएका छन् ।
महाकालीमा डुंगा चलाउन रोक लगाउनुभन्दा पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याउनुपर्ने स्थानीयबासीहरुको माग छ । महाकाली नदी तर्न अन्य विकल्प नभएकाले घाटहरुलाई व्यवस्थित बनाएर सञ्चालन गर्नुपर्ने स्थानीय बल्देवसिंह चाडले बताए । उनले भने ‘हामी सीमाका नागरिकलाई भारत जानै पर्ने बाध्यता छ । हामी इष्टमित्र र अन्य कामका लागि समेत भारत पुग्ने गर्दछौं । त्यसैले स्थानीय सरकारहरुले घाटहरु व्यवस्थापन गर्नु आवश्यक रहेको छ ।’
गत कार्तिक १० गते भएको डुंगा दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएसंगै अहिले नागार्जुन (खाँड) घाट बन्द छ । तर अन्य घाटहरुमा भने डुंगा चलि नै रहेका छन् । डिम्बर घाटमै अहिले डुंगा चालकले एकजनाबाट चारसय भारु लिने गरेको स्थानीय रुमला साउँदले बताइन् । उनले भनिन् ‘हामीले महाकाली नदी तर्न डुंगा प्रयोग गर्नुपर्ने बाध्यता रही आएको छ । तर अहिले हामी डुंगा मार्फत ओहोरदोहर गर्दा चर्को शुल्क तिर्न बाध्य भएका छौं ।’
डुंगा चालकहरुले भने बढी शुल्क नलिएको दाबी गरेका छन् । पञ्चेश्वर गाउँपालिका वडा नं २ का वडा सदस्य समेत रहेका रामसिंह मंगोलाले डुंगा सञ्चालन गर्न ५ जना चालक राख्नुपर्ने बाध्यता रहेकाले पहिलाको तुलनामा केही महंगो शुल्क भएको बताए । उनले भने ‘कोरोना कहरदेखि डुंगा बन्द थियो । भर्खर घाटहरु सञ्चालनमा आएका छन् । नदीमा पानीको बहाव पनि बढी छ । त्यसैले शुल्कमा केही तलमाथि भएको छ ।’