Sagun Khabar
बैतडीका गाउँगाउँमा परिवार नियोजन र प्रजनन स्वास्थ्य शिविर 

बैतडी–बैतडीका विभिन्न ग्रामीण क्षेत्रमा परिवार नियोजन र प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिनका लागि शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी निरीक्षक हरिश भट्टले जानकारी दिए  । 

बृहत परिवार नियोजन शिविर ८ ओटा स्थानीय तहका १२ ठाउँमा सञ्चालन भईरहेको भट्टले बताए । जिल्लाका ४ ठाउँमा शिविर सम्पन्न भईसकेको छ । हाट स्वास्थ्यचौकी, कुवाकोट स्वास्थ्यचौकी, गाँजरी स्वास्थ्यचौकी र मेलौलीमा शिविर सम्पन्न भएको हो । परिवार नियोजन शिविरमा महिला तथा पुरुषको स्थायी बन्ध्याकरण सेवा दिईरहेको सूचना अधिकारी भट्टले जानकारी दिए । 

Atrya hospital

बृहत परिवार नियोजन शिविर मंसिर २३ गते सिमारमा सम्पन्न हुनेछ । ग्रामीण क्षेत्रका नागरिकहरुलाई उनीहरुकै घरदैलोमा परिवार नियोजन सेवा पुर्याउने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको उनले बताए । मंसिर ५ गतेदेखि बृहत परिवार नियोजन शिविर सञ्चालनमा रहेको छ । 

यस्तै जिल्लाका ५ ठाउँमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन भएको छ । गर्भवती महिलाको अल्ट्रासाउण्ड,पाठेघर खसेका महिलाहरुको चेकजाँच गर्ने, पाठेघरको मुखको क्यान्सरको चेकजाँच गर्ने लगायतका सेवाहरु शिविरमा दिइएको सूचना अधिकारी भट्टले बताए । 

शिवनाथ गाउँपालिकाको शर्माली, पञ्चेश्वरको कुलाउ,मेलौलीको महारुद्र, पाटनको वसन्तपुर र सुर्नयाको शंकरपुरमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा महिलाहरुका लागि अस्थायी परिवार नियोजनका साधनहरुको सेवा समेत दिइएको थियो । 

शंकरपुर स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा २३१ जनाले सेवा लिएको शंकरपुर स्वास्थ्यचौकीका अहेब दीपकराज अवस्थीले बताए । 

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update