बैतडी –बैतडीमा सडक खन्दै गर्दा माथिबाट खसेको पहिरोले जिपमा क्षति पुर्याएको छ । महाकाली कोरीडोर अन्तर्गत पञ्चेश्वर गाउँपालिका ३ टिचोरामा सडक निर्माण गर्ने क्रममा आज बिहान माथिबाट खसेको पहिरोले म १ ज ३३१ नम्बरको जिपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
सडक निर्माणका लागि डोजर बोकेको टेलर बीचबाटोमै बिग्रेको र बाटो खुलाउनका लागि डोजरले सडक खन्दा पछाडि रहेको जिपमा पहिरो खसेको प्रहरी प्रवक्ता खड्काले बताए ।
जिपको अगाडिको भागमा माथिबाट पुरै माटो खसेकाले जिपको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । सो दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिप चालकलाई समान्य चोट लागेको स्थानीय जय चन्दले जानकारी दिए ।
जिप जन्ती ल्याउनका लागि गाउँ गईरहेको जनाइएको छ ।