बैतडी-बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ४ जनाको घटनास्थलमै र दुईजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाका वडा नं ६ का वडा अध्यक्ष रामसिंह पुजाराले बताए ।
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १८३नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, ३० बर्षीय डम्मरसिंह भण्डारी, २७ बर्षीय हिम्मत भण्डारी र ४० बर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
दुर्घटनामा परी घाइते भएका चालक तेजबहादुर बोहरा र स्थानीय ५० बर्षीय खेमसिंह भण्डारीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको वडा सदस्य पुजाराले बताए । दुर्घटनामा परी घाइते भएका ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।
घाइते हुनेमा सोही ठाउँका ३५ बर्षीय मोहनसिंह भण्डारी, ३० बर्षीय हरिसिंह भण्डारी,२८ बर्षीय मदनसिंह भण्डारी, र २४ बर्षीय दिलिपसिंह भण्डारी रहेका छन ।
जिप सडकबाट करीब ५सय मिटर तल खसेको बताइएको छ । साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।