बैतडी–छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमीक्रोन’भेटिएपछि भारतसंग सीमा जोडिएको बैतडीमा उच्च सतर्कता अपनाउन थालिएको छ । सीमा नाका झुलाघाटमा कोरोना चेकजाँचलाई थप प्रभावकारी बनाउने हिसाबले काम भईरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
झुलाघाट नाकामा पहिलादेखि नै हेल्थडेस्क सञ्चालनमा रहेको र त्यसलाई अझै प्रभावकारी बनाइने उनले बताए । कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा स्वास्थ्य प्रमुख भट्टले जोड दिए । उनले भने ‘कोरोनाको नयाँ भेरियन्ट भारतमा पुगिसकेको छ । त्यसैले हामीले स्वास्थ्यका मापदण्ड परिपालनामा ध्यान दिनु आवश्यक छ ।’
पछिल्लो समयमा स्वास्थ्य मापदण्ड पालनामा लापरवाही भईरहेकाले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, साबुनपानी वा सेनेटाइजरले हात धुने कुरामा ध्यान दिनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए ।
स्वास्थ्यका मापदण्ड परिपालनामा ध्यान दिन नसके कोरोनाको महामारी फैलिन सक्ने विज्ञहरुले चेतावनी समेत दिएका छन् । बैतडी भारतसंग सीमा जोडिएको जिल्ला भएकाले सीमा नाकामा बिशेष चेकजाँच गर्नुपर्नेमा जोड दिइएको छ ।