बैतडी – बैतडीको सिगास गाउँपालिकास्थित कालपोखरी जात्रामा मदिरा सेवन गरी होहल्ला गर्ने वडा अध्यक्ष सहित १३ जनालाई प्रहरीले एकरात थुनेर छोडेको छ । मदिरा सेवन गरी होहल्ला गर्ने सिगास गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष कर्णबहादुर ऐर सहित १३ जनालाई थुनेर आज बिहान छोडेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
स्थानीयहरुले जुवातास खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको दाबी गरेपनि प्रहरीले भने मदिरा सेवन गरेर होहल्ला गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
जात्रामा मदिरा सेवन गरी होहल्ला गर्नेलाई राती पक्राउ गरेको र अब उप्रान्त यस्ता क्रियाकलाप नगर्ने प्रतिबद्धता जनाएपछि छोडिएको प्रहरी निरीक्षक खड्काले बताए ।
जनप्रतिनिधि नै यस्ता काममा संलग्न भएको भन्दै स्थानीयहरु भने निकै आक्रोशित भएका छन् । सिगास गाउँपालिकालाई मदिरा निषेधित गाउँपालिका बनाउने निर्णय गर्ने जनप्रतिनिधिहरु नै यस्ता काममा संलग्न भएको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् ।