बैतडी –जिल्ला अस्पातल बैतडीमा अक्सिजन प्लान्ट जडानमा ढिलाई भएको छ । गत असारमै प्लान्ट जडान गर्ने हिसाबले ठेक्का सम्झौता भएको भएपनि चालु आर्थिक बर्षको ५ महिना बित्नै लाग्दा समेत प्लान्ट जडानको काम हुन सकेको छैन् ।
हेल्थ केयर काठमाण्डौंले १ करोड १८ लाखको लागतमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ठेक्का सम्झौता गरेको थियो । तर अहिले सम्म अक्सिजन प्लान्टका लागि आवश्यक सबै सामग्री पुगिनसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले बताए । उनले भने ‘अहिले पनि प्लान्टको सबै सामग्री आइपुगेको छैन् । यताको केही सामग्री अन्य जिल्लामा गएको छ । अन्य जिल्लाको केही सामग्री यता आएको छ ।’
कोरोना महामारीलाई मध्यजनर गर्दै अक्सिजन प्लान्ट स्थापना गर्न सरकारले बजेट छुट्याएको भएपनि ढिलाई हुँदा समस्या भएको छ । कोरोनाको नयाँ भेरियन्ट विभिन्न देशहरुमा तीव्र गतिमा फैलिरहेको अवस्थामा बैतडीमा पनि पूर्वतयारी आवश्यक रहेको भएपनि प्लान्ट जडानको काम हुनै सकेको छैन् ।
प्लान्ट जडानका लागि सामग्री आइपुगेको छैन् भने प्लान्ट जडान गर्न भवन समेत बनिसकेको छैन् । जिल्ला अस्पतालको नयाँ निर्माणाधिन भवन पछाडि भवन निर्माण गर्ने भनिएपनि अहिले सम्म शुरुवात हुन सकेको छैन् ।
कोरोनाको दोश्रो लहर फैलिएका बेला बैतडीमा अक्सिजनकै अभावमा धेरै बिरामीहरुलाई रेफर गर्नुपरेको थियो । सोही कुरालाई मध्यनजर गरेर अक्सिजन प्लान्ट जडान गर्ने भनिएपनि समयमा प्लान्ट जडान नहुँदा बैतडीबासी समस्यामा पर्ने भएका छन् । सार्वजनिक विकास निर्माणका कामहरु ढिलाई गर्ने चलन जस्तै बनिसकेको दशरथचन्द नगरपालिका १ का पुष्करराज भट्टले बताए । उनले भने ‘समयमै सार्वजनिक निर्माणका कामहरु नहुँदा स्थानीयहरुले समस्या भोग्दै आएका छन् । यस्तो प्रचलन हटाउन सम्बन्धित निकायहरुले पहल गर्नु आवश्यक छ ।’